" >
मोर्चाले मनाए कालो दिवस - Jaleshwortoday

मोर्चाले मनाए कालो दिवस

 ३ आश्विन २०८२, शुक्रबार २२:२१  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ असोज

जनकपुरधाममा संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

मोर्चाका नेताहरुले वर्तमान संविधानप्रति असंतुष्टि जनाउँदै जनकपुरधाममा कालो दिवस मनाएको हो । शुक्रबार दिउँसो झरीका बीच मोर्चाका नेता कार्यकर्ताहरु जनकचोकमा भेला भई संविधान विरुद्ध चर्का नाराबाजी गर्दै विरोध गरेका थिए ।

वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफुहरु कालो दिवस मनाइरहने जनता समाजवादी पार्टी नेपाल, धनुषाका अध्यक्ष पशुपति यादवले बताए । अहिलेको संविधानले मधेशी लगायत उत्पीडनमा परेका समुदायको अधिकारसमेत समेट्न नसकेको अध्यक्ष यादवले बताए । सबैको स्वामित्व स्वीकार नगरिएसम्म संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहने यादवले थपे ।

जनकचोकमा भेला भएका नेता कार्यकर्ताहरुले संविधानले मधेशीको मर्मलाई नसमेटेको आरोप लगाए ।

सरकारले संविधान निर्माण भएको खुशियालीमा संविधान दिवस मनाउँदै गर्दा संविधानप्रति असन्तुष्टि जनाउँदै ६ मधेशवादी दल सम्मिलित मोर्चाले कालो दिवस मनाएको हो ।

मोर्चाले घोषणा गरे बमोजिम मधेशका जिल्लाहरुमा कालो दिवस मनाइएको छ ।

तत्काल नेपालका राजनीतिक दलले संविधान संशोधन गरी सबैको आवाजलाई समेटेर सबैले स्वामित्व लिने संविधान बनाउनुपर्ने राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य संजय चौधरीले बताए ।

राज्यले मधेशीको छाती र टाउकोमा गोली हानिरहदा जारी गरिएको संविधान कुनै हालतमा स्वीकार नहुने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय सदस्य उमेश मण्डलले बताए ।

संविधानले मधेशीको हक अधिकार समेट्न नसकेकाले यसलाई स्वीकार गर्ने कुनै कारण नरहेकाले आफूहरुले यो दिनलाई कालो दिवसको रुपमा मनाउने गरेको तमलोपाका अर्का केन्द्रीय नेता रामजी रायले बताए ।

२०७२ साल असोज ३ गते संविधान जारी हुँदा काठमाण्डौलगायत देशका अन्य भागमा दीपावली मनाएको थियो भने मधेशमा ब्ल्याक आउट गरेको थियो ।