
आरजे इर्शाद शेख
महोत्तरी, २४ असोज
भीषण वर्षासँगै आएको बाढीबाट अति प्रभावित महोत्तरीको मनराशिसवा नगरपालिकाभित्रका पूर्ण रूपमा क्षति व्यहोरेका ५१ विपन्न परिवारलाई गैर-खाद्य राहत सामग्री वितरण गरिएको छ। राहत वितरण कार्यक्रम सेभ द चिल्ड्रेनको सहकार्यमा रतौली युवा क्लबले असोज २४ गते, शुक्रबार सम्पन्न गरेको हो।
गत शनिबार र आइतबार लगातार परेको भारी वर्षापछि रातु र जँग्हा नदीमा आएको बाढीले मनराशिसवा नगरपालिका लगायतका विभिन्न क्षेत्र डुबानमा परेका थिए। बाढीबाट विशेषगरी वडा नम्बर ३, ४, ५, ६ र ७ बढी प्रभावित भएका छन्।
रतौली युवा क्लबका अध्यक्ष बैद्यनाथ चौधरीका अनुसार, बाढीपीडित परिवारलाई प्रतिपरिवार करिब १४७५० रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो। “शेल्टर किट, हाइजिन किट, पानी फिल्टर, एलुमिनियम भूँई म्याट, पातलो कम्बल र भान्सा किटजस्ता अत्यावश्यक गैर-खाद्य सामग्री वितरण गरिएको छ,” उनले जानकारी दिए।
नगर प्रमुख मोहन पाण्डेले बाढीपीडितलाई राहत सामग्री वितरण गरेर ठूलो सहयोग पुर्याएको भन्दै सेभ द चिल्ड्रेन र रतौली युवा क्लबप्रति आभार व्यक्त गरे। साथै, स्थानीयवासीहरूले पनि यस कार्यको खुलेर प्रशंसा गरेका छन्।
राहत वितरण कार्यक्रम नगर प्रमुख मोहन पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निर बहादुर दहाल, सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक पुष्कर काफ्ले, अनुगमन तथा मूल्यांकन व्यवस्थापक सरिता यादव, जितेन्द्र जयसवाल, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीलगायत अन्य कर्मचारीहरू तथा बाढीबाट पूर्ण क्षति व्यहोरेका घरपरिवारका प्रतिनिधिहरूको उपस्थिति थियो।