" >
समावेशी सञ्चार प्रवद्र्धनका लागि सपोर्ट नेपालको पहलमा रेडियो श्रोता क्लब गठन - Jaleshwortoday

समावेशी सञ्चार प्रवद्र्धनका लागि सपोर्ट नेपालको पहलमा रेडियो श्रोता क्लब गठन

 २५ आश्विन २०८२, शनिबार २२:१९  
8

आरजे इर्शाद शेख
महोत्तरी, २५ असोज

सपोर्ट नेपालद्वारा सञ्चालित ‘सशक्तिकरण परियोजना’ अन्तर्गत मटिहानी नगरपालिका–०३, बरदाहामा शनिबार रेडियो श्रोता क्लब गठनसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय तहमा सञ्चार पहुँच विस्तार गर्दै नागरिक आवाजलाई सशक्त बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा मटिहानीका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी क्लब गठन प्रक्रिया सुरु गरिएको हो।

कार्यक्रममा ‘समावेशी आवाज’ नामक रेडियो कार्यक्रमबारे जानकारी दिइयो, जसले विशेषगरी दलित, महिला, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत र अतिविपन्न समुदायका मुद्दाहरूलाई प्राथमिकता दिने लक्ष्य राखेको छ।

अभिमुखिकरण सत्रमा सहभागीहरूलाई रेडियो श्रोता क्लबको उद्देश्य, कार्यविधि, मासिक बैठक संरचना तथा कार्यक्रमसँगको अन्तरक्रियाको महत्वबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूले क्लबलाई सक्रिय बनाउँदै सूचना र सामाजिक संवाद प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सपोर्ट नेपालका महोत्तरी जिल्ला संयोजक प्रकाश ठाकुर र धनुषा जिल्ला संयोजक अभियन्ता शत्रुधन महतोको उपस्थिति रहेको थियो। उनीहरूले रेडियो श्रोता क्लबले स्थानीय नागरिकको आवाज सशक्त बनाउने विश्वास व्यक्त गरे।

सपोर्ट नेपालले क्लब सदस्यहरूलाई रेडियो उपकरण वितरण गर्ने जानकारी दिंदै, कार्यक्रम सुन्ने, प्रतिक्रिया दिने र मासिक छलफललाई थप प्रभावकारी बनाउने बताएको छ।

वडागत प्रतिनिधित्व यसप्रकार छ:

🔹 वडा नं. १ बाट:’ वकिल राय, सोनु मण्डल, गायत्री देवी, नीरज मण्डल मोहम्मद निजामुद्दीन अन्सारी

🔹 वडा नं. ३ बाट:- मेहरून खातुन, राम हुलास याद,शेर मोहम्मद, हबीबुल राइन, मुकेश पासी कार्यक्रमपछि वकिल रायलाई सर्वसम्मतिले क्लब संयोजकको रूपमा चयन गरिएको छ।