जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३० असोज
समुदाय स्तरीय समावेशी शिक्षा सम्बन्धी संवाद कार्यक्रम बिहीबार धनुषाको बटेश्वर गाउँपालिकामा सम्पन्न भएको छ ।
युरोपियन युनियन, पिपुल इन निड, एकाउन्टविलिटी ल्यावको आर्थिक र प्राविधिक सहयोगमा लाइफ नेपालले आयोजना गरेको संवाद कार्यक्रममा सहभागीहरुले विद्यालयमा विद्यार्थी नियमित गर्न सुधार गर्नुपर्ने क्षेत्र तथा चुनौतीबारे आ आफ्नो धारणा राखेका थिए ।
संवाद कार्यक्रममा शिवशक्ति माविका छात्रछात्राहरुले विद्यालयमा खानेपानीको समस्या रहेको बताएका थिए । शौचालय नजिक पानी नहुँदा कठिनाई भइरहेको गुनासो उनीहरुको थियो ।
समावेशी शिक्षा (पहुँच) परियोजना अन्तर्गत बटेश्वरमा आयोजित संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष रामअशिष महतोले विद्यालयमा देखिएको खानेपानी र शौचालयको समस्या केही दिनभित्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । चालु आर्थिक वर्षमा छुट्टयाएको बजेटले खानेपानी र शौचालय व्यवस्थापन कार्य पूरा हुन नसकेमा आउँदो आर्थिक वर्षमा थप बजेट उपलब्ध गराउने अध्यक्ष महतोले बताए ।
विद्यालयमा आवश्यक जनशक्ति व्यवस्थापनमा श्रोतसाधन अपुग हुने गरेको जिकिर गर्दै अध्यक्ष महतोले उपलब्ध श्रोतसाधनबाटै सो समस्या समाधान गर्न गाउँपालिका अग्रसर रहेको उल्लेख गरे ।
संवाद कार्यक्रमको अध्यक्षता समेत गरेका प्रमुख प्रशासकीय अधिकृत रेवतिप्रसाद पौडेलले पालिकाले आफ्नो स्तरबाट सबै क्षेत्रलाई समेट्ने गरी कार्य गरिरहे पनि केही क्षेत्र छुट्न गएको स्वीकार गर्दै यसतर्फ ध्यानाकर्षण गराईदिएकोमा आयोजक संस्थामा धन्यवाद ज्ञापन गरे । अपांगमैत्री, बालमैत्री, प्रविधिमैत्री बनाउनतर्फ पालिकाको ध्यान जान नसकेको बताउँदै अव यसतर्फ पनि आवश्यक कार्यहरु गरिने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत पौडेलले व्यक्त गरे । विद्यालयहरुमा रहेको समस्या पहिल्याउन सहयोग गरेकोमा उनले आयोजक संस्थामा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा एकाउन्टिवलिटी ल्यावका कयुम राईनले सामुदायिक विद्यालयको समस्या समाधानमा प्रअ र शिक्षकहरु पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । सरसफाई, शैक्षिक वातावरण कायम गर्न, तथा गुणस्तरीय शिक्षामा सुधार ल्याउनका लागि प्रअ र शिक्षकको भूमिका महत्वपूर्ण रहेकाले यसतर्फ गंभीर हुन आवश्यक रहेको राईनले बताए ।
कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले पहुँच परियोजनाबारे संक्षिप्त जानकारी दिदै सात महिनासम्म संचालन हुने परियाजनाले बटेश्वर गाउँपालिकाको पाँच वटा माविको आधारभूत तथ्यांक संकलन, सरोकारबालाहरुसँग अन्तरक्रिया, समुदायमा बैठक, विद्यालय आउने विद्यार्थी, विद्यालय छाडेका विद्यार्थी, विद्यालय भर्नामा अवरोध, विद्यालयहरुसँग सम्बन्ध सुदृढ गर्ने लगायतको क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।
जनप्रिय मावि भुचक्रपुर १ देखि कक्षा ३ सम्मका विद्यार्थी मुल्यांकन रेकर्ड पुस्तिका लागू गर्ने पहिलो विद्यालय रहेको उनले बताए । परियोजना संचालन गरिएको विद्यालयहरुमा अपांग्ता र लैंगिक मैत्री कार्यक्रमहरु सुरु भएको ठाकुरले जानकारी दिए । छात्रभन्दा छात्राको संख्या बढी रहेपनि विद्यालयमा हालसम्म समावेशी शिक्षाको अनुसार हुन सकेको छैन, उनले भने–शिक्षक विद्यार्थी औषत दर पनि मिलेको छैन् ।
सबै वर्गका बालबालिकाहरु विद्यालयमा ल्याउन सके त्यो नै समावेशी हुने भएकाले यसतर्फ प्रअ र शिक्षकहरुको उनले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतो, शिवशक्ति माविका प्रअ प्रमोद शरण केवट, जनप्रिय माविका प्रअ राजकुमार राउत, जनशक्ति माविका प्रअ छठुलाल महतो लगायत शिक्षक, विद्यार्थी लगायत पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
