" >
सीमावर्ती भारतीय बजारको प्रभावले यस वर्ष धनतेरसमा अपेक्षाकृत कम व्यापार, व्यापारी चिन्तित - Jaleshwortoday

सीमावर्ती भारतीय बजारको प्रभावले यस वर्ष धनतेरसमा अपेक्षाकृत कम व्यापार, व्यापारी चिन्तित

 ३ कार्तिक २०८२, आईतवार २३:२१  
2

आरजे इर्शाद शेख
धमौरा, २ कार्तिक

यस वर्षको धनतेरसमा महोत्तरीको जलेश्वर बजारमा व्यापार अपेक्षाकृत मन्द देखिएको छ। स्थानीय व्यापारीहरूले सीमावर्ती भारतीय बजारहरूको प्रभावले गर्दा बिक्रीमा उल्लेख्य गिरावट आएको गुनासो गरेका छन्।

“गत वर्षको तुलनामा करिब ३०–४० प्रतिशतसम्म बिक्री घटेको अनुमान छ,” स्थानीय व्यापारी भोला साहले बताए। उनका अनुसार यो वर्ष ग्राहकहरू धेरैजसो सामानको मूल्य सोध्न आउने गरे तापनि वास्तविक खरिदमा खासै उत्साह देखिएन।

व्यापारीहरूका अनुसार भिट्ठामोड र मधवापुरजस्ता सीमावर्ती भारतीय बजारमा समान सामान सस्तो मूल्यमा उपलब्ध हुने भएकाले नेपाली ग्राहकहरू त्यता सर्न थालेका छन्। त्यो पनि खुला सीमा र बिना झन्झटको आवतजावतले गर्दा सहज भएको छ।

“भारतीय बजारमा सामान सस्तो मात्रै होइन, छुट र विविधता पनि बढी हुन्छ,” अर्का व्यापारी फूल बाबुले भने। “हामीकहाँ त्यति सुविधा दिन सकिँदैन, जसले गर्दा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ।”

व्यापारीहरूले चिन्ता व्यक्त गर्दै भनेका छन् कि यदि यस्तो स्थिति यथावत् रह्यो भने स्थानीय बजार थप संकटमा पर्न सक्नेछ। यद्यपि केहीले दीपावलीको मुख्य दिनसम्म बिक्रीमा केही सुधार हुने आशा पनि व्यक्त गरेका छन्।