प्रेमचन्द्र झा
राैतहट , ११ कार्तिक
नेकपा एमाले र आजपाबीच राैतहटमा फेरि पनि राजनीतिक तनाव तीव्र बनेको छ । नेकपा एमालेले यही कार्तिक १३ गते माैलापुरमा गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रमकै स्थलमा आजपाका अध्यक्ष प्रभु साहले समेत कार्यक्रम घोषणा गरेपछि भिडन्त हुने सम्भावना बढेको हो ।
आजपाका कार्यकर्ताहरूले मंगलबार बैठक गरी एमालेको कार्यक्रम असफल पार्ने निर्णय गरेको स्रोतले जनाएको छ । यसपछि दुबै पक्षका नेता तथा कार्यकर्ता एक–अर्कालाई निशाना बनाउन थालेका छन् ।
एमालेका केन्द्रीय सदस्य तथा राैतहट क्षेत्र नं. ३ का इञ्चार्ज कुन्दन कुशवाहाले मंगलबार पत्रकार सम्मेलन गर्दै परिस्थितिलाई तनावतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले माैलापुरका स्वघोषित “राजा साहेब” को निर्देशनमा जनता भडकाउने, लडाउने र भिडाउने काम भइरहेको बताए ।
कुशवाहाले चेतावनी दिँदै भने, “यदि हाम्रो कार्यक्रम रोकिने वा अवरोध पुर्याउने प्रयास भयो भने स्वघोषित राजा साहेबको शिशमहल अगाडि नै कार्यक्रम गरेर देखाउँछौं, जतिसुकै बल लगाए पनि पछि हटिँदैन।”
उनले अझै आरोप लगाउँदै भने, “जेन्जी आन्दोलनका क्रममा राैतहटमा भएका आगजनी र लुटपाट प्रभु साहकै इसारामा उनका जेठो छोरा र आजपाका कार्यकर्ताले गरेका थिए । यदि साहसँग थोरै नैतिकता बाँकी छ भने ती सबै घटनाको जिम्मेवारी लिएर कार्यवाही भोग्न तयार हुनुपर्छ।”
कुशवाहाले प्रभु साहलाई “अपराधी प्रवृत्तिका व्यक्ति” भन्दै फेरि अर्को घटना गराउन खोजिरहेको आरोप समेत लगाए ।
स्थानीय प्रशासनले भने दुबै दलका कार्यक्रमका मिति र स्थानलाई व्यवस्थापन गर्न छलफल भइरहेको जनाएको छ । सम्भावित झडप रोक्नका लागि सुरक्षा निकायहरूलाई सतर्क रहने निर्देशन दिइएको छ ।
