" >
अनौपचारिक श्रमिकको सामाजिक सुरक्षामा सञ्चारकर्मीको भूमिका विषयक कार्यशाला सम्पन्न - Jaleshwortoday

अनौपचारिक श्रमिकको सामाजिक सुरक्षामा सञ्चारकर्मीको भूमिका विषयक कार्यशाला सम्पन्न

 २७ कार्तिक २०८२, बुधबार २०:३१  
2

ओम प्रकाश साह
जनकपुरधाम, २६ कार्तिक

अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको भूमिकाबारे एकदिने कार्यशाला बुधबार जनकपुरधाममा सम्पन्न भएको छ।

‘अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिहरूको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका’ शीर्षकमा आयोजित सो कार्यशाला मसाला कटेज, जनकपुरधाममा सम्पन्न भएको हो।

कार्यक्रमको आयोजना सामाजिक सुरक्षा कोष, नेपालले गरेको थियो भने डिजिटल ब्रोडकास्ट इनिसियटिभ इक्वेल एक्सेस (DBI–EA) को सहकार्य र युरोपियन युनियन (EU) तथा संयुक्त राष्ट्रसंघ (UN) को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सञ्चारकर्मीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने रणनीति तथा सञ्चार माध्यमको प्रभावकारी भूमिकाबारे विचार–विमर्श गरेका थिए।

सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षाको महत्व, कोषले सञ्चालन गर्दै आएका कार्यक्रम र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पहुँच बढाउने रणनीतिबारे प्रस्तुति दिएका थिए। उनले भने, “सामाजिक सुरक्षा प्रत्येक श्रमिकको अधिकार हो। अनौपचारिक क्षेत्रमा रहेका श्रमिकसम्म यो अधिकार पुर्‍याउन सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण छ।”

त्यसैगरी, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीले कार्यशालामा सहभागी सञ्चारकर्मीहरूलाई कोषका नीति, कार्यक्रम र सदस्यता प्रक्रियाबारे जानकारी गराएका थिए।

कार्यशालामा विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।