जनकपुरधाममा त्रेतायुगदेखि नै मनाइदै आएको श्री सीताराम विवाहपञ्चमी महोत्सवको राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्व रहेकोमा कसैको दुई मत नहोला । यसको गरिमा तथा साख जतिसुकै बखान गरे पनि अद्वितीय रहेको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि सप्ताहव्यापी रुपमा मनाइएको विवाहपञ्चमी महोत्सवमा मनाइएको छ । विभिन्न संघसंगठन तथा सरकारी निकायको निःशुल्क भोजन,औषधीउपचार,पिउने पानी वितरण,चिया,नास्ता लगायत आवश्यक काममा व्यापक सहभागिता तथा सक्रियता देखिएको थियो । स्थानियवासीले खुशीका साथ धुमधामसँग आ—आफ्ना वरपर सफा राख्नुका साथै बेलुकी दीप बालि दिपावली मनाएका थिए । यो मिथिलाञ्चलको संस्कार हो जुन यहाँका स्थानिय नागरिक समाजले सक्रिय रुपमा यस पर्वलाई सफल बनाउन सहयोग गरेको देखिन्छ ।
तर दुःखको कुरा के छ भने स्थानिय सरकार तथा प्रदेश सरकारले वहन गर्नुपर्ने भूमिका ज्यादै नै फितलो देखिएको थियो । श्रद्धालु भक्तजनको लागि सुत्ने पण्डाल,शौचालय,फोहोर व्यवस्थापन,भगवानको दर्शन,रेल तथा भिड व्यवस्थापनमा कमी देखिएको थियो । जानकी मन्दिर भित्रकै मात्र भिड अव्यवस्थित रहेको हुन्छ जुन व्यवस्थित हुन जरुरी देखिन्छ । मधेस प्रदेशको नव मुख्यमन्त्रीले समेत विवाहपञ्चमीलाई उपेक्षा गरेको देखिन्छ । किनभने ३ वटा मन्त्रालयहरु बाहेक बाँकी मन्त्रालयहरुका प्रमुख आफै भए पनि विवाहपञ्चमीलाई व्यवस्थित गर्न नसकेको जनगुनासो रहेको छ । यस वर्ष अन्य वर्षको तुल्नामा पर्यटकहरुको उपस्थिति कम रहेको थियो । स्थानिय सरकारको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख समेत धार्मिक नगर जनकपुरधामको साख बचाउन सकेन । अहिले भारतीय सरकारले नेपालको धार्मिक सीताराम मन्दिरको विकल्पको रुपमा सितामढी र अयोध्यालाई फोकस गरेका कारण यहाँ अझै श्रद्धालुहरुको संख्यामा कमी आउने प्रबल सम्भावना रहेको देखिन्छ । त्यसकारण जनकपुरधामको साख जोगाउनको लागि प्रतिस्पर्धात्मक रुपमा सेवा सुविधामा कमी नगरी अन्य सुविधा तथा आकर्षकता बढाउनमा सबैको ध्यानाकर्षण हुन अपरिहार्य रहेको देखिन्छ ।
