आरजे इर्शाद शेख
महोत्तरी, २२ पुस
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रुपान्तरण जीवन उपयोगी सिपसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। एकीकृत ग्रामीण विकास समाज (IRDS) बर्दिवास, दलित समाज उत्थान समिति महोत्तरी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा तालिम आयोजना गरिएको थियो।
सम्सी गाउँपालिका र एकडारा गाउँपालिकाबाट सहभागी रुपान्तरण शिक्षक तथा २६ जना विद्यार्थीलाई पाँच दिने तालिम प्रदान गरिएको थियो। तालिम प्राप्त शिक्षकहरूले सम्सी गाउँपालिका–८ मा रुपान्तरण कक्षा सञ्चालन गर्ने जनाइएको छ।
बालबालिकाको अधिकार संरक्षण गर्नुका साथै उनीहरूको जीवन उपयोगी सिप र क्षमताको विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको IRDS बर्दिवासका कार्यक्रम व्यवस्थापक धर्मराज उप्रेतीले बताउनुभयो।
तालिमको सहजीकरण तथा व्यवस्थापन संरक्षण अधिकृत राजिव कुमार झाले गर्नुभएको थियो। कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज बर्दिवासकी उपाध्यक्ष फूलमाया घिसिङ, सचिव सरोज सिंह, अनुगमन तथा मूल्याङ्कन अधिकृत उषा कार्की, दलित समाज उत्थान समिति महोत्तरीका सौरभ सुमन र रञ्जन सिंह तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक दिलिप कुमार यादवको उपस्थिति रहेको थियो।
