मधेसमा अहिले हिन्दु तथा मुस्लिम समुदाय वीचको धार्मिक सहिष्णुता खलबलिएको देखिन्छ । मधेसमा विभिन्न भाषाभाषि तथा धार्मिक समुहका व्यक्तिहरुका बसोबास परापूर्व कालदेखि रहदै आएको हो । हिन्दुहरुका विभिन्न धार्मिक पर्वहरु दशै,होलि,दीपावली,छठ लगायतमा मुस्लिम समुदायको समेत आस्था रहेको हुन्छ भने मुस्लिमहरुका विभिन्न पर्वहरु ईद,बकरिद लगायतमा हिन्दु समुदायको समेत सदभाव रहेको हुन्छ । प्राचीन कालदेखि नै हिन्दुहरुले झण्डा तथा मुस्लिमहरुले दाहा अर्थात मोहरम पर्व मनाउने गर्दछन् । यस पर्वमा समेत दुवै धर्माबम्बिहरुका सहभागित रहने गर्दछ । नेपाल देश नै हाम्रो चार जात छत्तिस वर्णको साझा फुलवारी हो भनी हामी सबैले स्वीकार गरि सकेपछि धार्मिक भिन्नतालाई त्यागी एउटै मालाका फुलहरु हौ भन्ने कुरा बुझ्नुपर्दछ ।
नेपाल अहिले प्रतिनिधि सभाको तयारीमा रहेको अवस्थामा यस किसिमको अराजक गतिविधिहरु घट्नु ज्यादै नै दुखद हो । हामी नेपाली देशमा राजनैतिक,आर्थिक तथा सामाजिक स्थिरता ल्याउन खोजि रहेका छौं । जेनजी आन्दोलनले जलेको नेपाललाई पुनर्निर्माणको बाटोमा छौं । राष्ट्रिय सभालाई समेत स्थापित गर्नमा लागेका छौं । हामी अहिले पनि छिमेकी राष्ट्र भारत तथा चिनदेखि कति गुणा पछाडी छौं । यसको लेखाजोखा कसले राख्छ ? सधै हामी आन्तरिक द्वण्द्वमा लागेर न हाम्रो विकास हुन्छ न त देश कै । त्यसकारण विभिन्न सरोकारबाला निकाय तथा विशेष गरी सुरक्षा निकायले समेत अराजक तत्वहरुलाई सिमानाकाबाट नेपाल भित्रिनबाट रोक लगाउनु पर्दछ भने भित्रि सकेकालाई नियन्त्रणमा लिई देशमा अमन चयन कायम राख्नमा सहयोग गर्न आवश्यक रहेको देखिन्छ । साथै नागरिक समाज,बुद्धिजिबी तथा विभिन्न धार्मिक अगुवाहरुले समेत भडकाऊ अभिव्यक्ति दिनु भन्दा यसलाई नियन्त्रण तथा सद्भाव कायम गर्न गराउन सहयोग गर्न अति आवश्यक रहेको देखिन्छ ।
