आरजे इर्शाद शेख
महोत्तरी, २७ पुस
एकडारा गाउँपालिका–५ स्थित बहेडा बजारमा आइतबार कोल्हुवा–बगेया बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०८१/८२ को ८औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।
साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष रीना कुमारीले गर्नुभएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गगन देव यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष राम नारायण साह, वडा अध्यक्ष श्याम चौधरी, शिव नारायण यादव, कार्यालय प्रमुख विशाल कुमार दास, शिवशरण दास, मनरा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह, मो. आलम अंसारी, हरि नारायण यादव,विभिन्न पार्टीका नेता लगायत उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि यादवले मन्तव्य राख्दै आम्दानीको केही अंश सहकारीमा बचत गर्न सके भविष्यमा सन्ततिको विकासको ढोका खुल्ने बताउनुभयो। उहाँले कतिपय “क” वर्गका बैंकहरू समेत सहकारी संस्थाबाट सञ्चालन भएको उदाहरण दिँदै सहकारीमा बचत गर्नु सुनौलो भविष्यको आधार भएको उल्लेख गर्नुभयो।
वडा अध्यक्ष श्याम चौधरीले गाउँस्तरका बचत तथा ऋण सहकारी संस्थामा लगानी गर्न सबैलाई आग्रह गर्दै बचत गर्ने संस्कारले स्थानीय आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
त्यसैगरी, कार्यालय प्रमुख विशाल कुमार दासले संस्थाले विगत ८ वर्षको अवधिमा निरन्तर प्रगति गर्दै सदस्यहरूको आर्थिक अवस्था सुधारमा उल्लेखनीय भूमिका खेलेको जानकारी दिनुभयो।
साधारणसभाको अवसरमा उत्कृष्ट १० जना बचतकर्तालाई सम्मानपत्र तथा उपहार प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा रामप्रीत यादव, अञ्जित पाण्डेय, हसरत अंसारी,रोशन खातुन,इन्द्रा कुमारी मण्डल, डा. नागेन्द्र पण्डित, डा. महेश साह, रुन्ची कुमारी, ललित राम र राम सोहन पासवान रहेका थिए।
त्यसैगरी, संस्थामा कार्यरत ७ जना कर्मचारीहरूलाई समेत प्रोत्साहनस्वरूप उपहार प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय सर्वसाधारण, शेयर सदस्य तथा अतिथिहरू गरी ४०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन (उद्घोषण) जय पाण्डेयले गर्नुभएको थियो।

