मोनू गुप्ता
जनकपुरधाम, १३ चैत
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुरधाम स्थित उद्योग वाणिज्य संघको सभाहलमा आज शुक्रबार ‘अभिकर्ता भेला’ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सँग आवद्ध अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद आचार्यले बीमा क्षेत्रको दिगो विकास र आम नागरिक सम्म यसको पहुँच विस्तारमा अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले अभिकर्ताहरूले इमान्दारिता, सेवाभाव र पेशागत निष्ठाका साथ काम गरेमा बीमाप्रति जनविश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरे। साथै, उनले बीमा सचेतना गाउँ–गाउँसम्म पुर्याउन अभिकर्ताहरूलाई सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा जनकपुरधाम शाखाका अध्यक्ष परमेश्वर साहले अभिकर्ताहरू बीमा क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै पेशागत दक्षता र जिम्मेवारी बोध लाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा केन्द्रीय सचिव तेज प्रसाद तिवारी विशिष्ट अतिथि रहनुभएको थियो भने अतिथि अमर चन्द्र अनिल, मनोज कुमार यादव, सरिता ठाकुरलगायतले पनि मन्तव्य राख्दै बीमा सचेतना विस्तार, क्षमता अभिवृद्धि तथा पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरूले बीमा क्षेत्रको सुदृढीकरण तथा अभिकर्ताहरूको हकहित संरक्षणका विषयमा सकारात्मक छलफल गरेका थिए।
