मो.इर्शाद
महोत्तरी, ३ जेठ
जलेश्वर नगरपालिकामा स्थानीयस्तरको योजना तर्जुमा प्रक्रियामा अर्थपूर्ण बालसहभागिता सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकास्तरीय भेला सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न स्थानीय विद्यालयका बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
भेलामा सहभागी बालबालिकाहरूले पालिकाभित्र हालसम्म भएका विकास निर्माणका कार्य तथा आगामी दिनमा गर्नुपर्ने विकासका प्राथमिकताहरू समेटेर चार्ट तयार पारी स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए। बालबालिकाहरूले शिक्षा, सडक, खानेपानी, सरसफाइ, खेलमैदान लगायतका विषयमा आफ्ना धारणा र आवश्यकताहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगरपालिकाकी उपमेयर रोशन खातुनले बालबालिकाबाट उठाइएका सबै माग तथा सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। त्यस्तै शिक्षा शाखा प्रमुख कृति कर्णले पनि बालमैत्री योजना निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताइन्।
त्यस्तै, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ यादवले योजना तर्जुमा प्रक्रियामा बालबालिकाको आवाज समेटिनु अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अबदेखि नगरपालिकाका विभिन्न विषयगत शाखाहरूले योजना बनाउँदा बालबालिकाहरूलाई अनिवार्य सहभागी गराई उनीहरूको राय लिनुपर्छ। बालबालिकाको माग र आवश्यकता अनुसार नै योजना निर्माण र कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौँ।
कार्यक्रममा रतौली युवा क्लबका अध्यक्ष साकिर खान तथा रेडियो मिथिलाका स्टेशन मेनेजर इर्शादले विद्यालयमा बालबालिकाले भोगिरहेका विभिन्न समस्याहरू जनप्रतिनिधिकै उपस्थितिमा उजागर गरेका थिए।
उक्त कार्यक्रम सेभ द चिल्ड्रेन, रतौली युवा क्लब र जलेश्वर नगरपालिकाको सहकार्य तथा सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ।
