जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माँग – Jaleshwortoday

जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माँग

 May 17, 2026  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ जेठ
श्री राधाकृष्ण योग सेवा केन्द्रका केन्द्रीय अध्यक्ष तथा वैदिक पुरोहित विनय भाइले बालेन्द्र शाह समक्ष जानकी मन्दिर र पावन मिथिला भूमिलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पठाइएको ज्ञापनपत्रमा मिथिला भूमि केवल ऐतिहासिक क्षेत्र नभई धर्म, संस्कृति र आध्यात्मिक चेतनाको केन्द्र भएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा जानकी मन्दिरले विश्वलाई करुणा, त्याग, मर्यादा र नारी सम्मानको सन्देश दिँदै आएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनलाई राष्ट्रिय दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ । ज्ञापनपत्रमार्फत जानकी मन्दिरको वैदिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक अनुसन्धान, प्रमाण संकलन तथा कूटनीतिक पहल तत्काल सुरु गर्न आग्रह गरिएको छ । त्यसैगरी मन्दिर व्यवस्थापनलाई राजनीतिक प्रभावमुक्त बनाउनुपर्ने, धार्मिक तथा सांस्कृतिक गतिविधि निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ ।
ज्ञापनपत्रमा महिला वैदिक विद्वान तथा योग्य महिला पुरोहितको धार्मिक अनुष्ठानमा सहभागिता सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको छ । विनय भाइले मिथिला र जानकी मन्दिरको ऐतिहासिक तथा आध्यात्मिक पहिचान उजागर गर्न वेद, उपनिषद् र रामायणका आधारमा उच्चस्तरीय वैदिक शास्त्रार्थ आयोजना गर्नुपर्ने सुझाव दिएका छन् । साथै, सबै वर्ग, समुदाय र परम्पराको प्रतिनिधित्व हुने गरी समावेशी …वैदिक धर्म–संस्कृति संरक्षण परिषद्Ú गठन गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा जनकपुरधामको मौलिक संस्कार, संस्कृति र वैदिक परम्परा संरक्षणका लागि यज्ञशाला, गौशाला, गुरुकुल तथा वेदाचार्य व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्रको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मधेश प्रदेश सरकार तथा प्रतिनिधिसभा सदस्य मनिष झा लाई समेत दिइएको जनाइएको छ ।