जनकपुरधाम उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत सरुवाले काम प्रभावित – Jaleshwortoday

जनकपुरधाम उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत सरुवाले काम प्रभावित

 October 14, 2020  
Janakpurdham

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ आश्विन

जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सिघ्र सरुवाको कारण विकासात्मक कार्य लगायत अन्य कार्यहरु समेत प्र्रभावित भएको छ ।गत असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेकोमा विनोदकुमार खडकालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा पठाइएको थियो । यद्यपि खडकाले हाजिर नहुँदै यहाँबाट सरुवा भएका छन् । जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीता मिश्रले यहाँ सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत खडका हाजिर नै नभएको जानकारी दिइन् । उनले भनिन्,‘यहाँ सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएको थिए तर उहाँसँग मेरो भेट पनि भएन् ।’उपप्रमुख मिश्रले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसँग फोनमा कुरा गरेर एकरदुई दिनमै हाजिर हुने बताएपनि हाजिर नै नभई सरुवा गराए ।’खडका स्थानीय सरकार गठन भएको ३ वर्षमा ८ औँ प्रशासकिय अधिकृतको रुपमा जनकपुरधाम उपमहानगरपालिकामा आउन लागेका थिए ।यसअघि जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा आठजना प्रमुख प्रशासकीय अधिकृत फेरिसकिएका छन् । उपमहानगरपालिकाको चुनाव ताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार,धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी र अहिले आएर विनोद कुमार खडका हाजिर नभएरै सरुवा गराएका छन् ।जनकपुरधाम उपमहानगरमा आएका सबै प्रमुख प्रशासकीय अधिकृतहरू बढीमा ७ महिनासम्म मात्र काम गरेका छन् । उपमहानगरमा आएका प्रमुख प्रशासकिय अधिकृतहरु मध्ये कतिले काम गर्न नसकेको भन्दै सरूवा मागेर गए भने कतिलाई दवाव दिएर सरूवा गराएका हुन् ।कोरोना समयमा जनकपुरधाम उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि उपमहानगरका धेरै काम प्रभावित बनेको छ ।