मधेसी आयोगद्वारा गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न गृहलाई पत्राचार – Jaleshwortoday

मधेसी आयोगद्वारा गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न गृहलाई पत्राचार

 March 27, 2023  
ee

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ चैत्र

गाईको मासु बेच्ने पर्सा जिल्लाको विरगंज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न मधेशी आयोगले गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले संचालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक संजाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्नको लागि उजुरी दर्ता गराएका थिए ।

सो उजुरी प्राप्त भएपछी आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार गरेको आयोगका अध्यक्ष डा बिजय दत्तले जानकारी दिए ।

उनले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैर–कानुनी क्रियाकलाप रहेको बताउदै आयोगले यो विषयमा तुरन्त कारवाही गर्न गृहलाई पत्र पठाइएको बताए ।

यस्तै, आयोगले सामाजिक संजाल फेसबुकमा मो.कबिर नाम गरेको व्यक्तिले हिन्दु धर्मका देवी देवताहरु माथि अपशब्द प्रयोग गरी हिन्दु धर्मावलम्बीहरुमाथि प्रहार गर्नेलाईसमेत कानुनी दायरामा ल्याई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।