सामाचकेवालाई जोगाउन जरुरी – Jaleshwortoday

सामाचकेवालाई जोगाउन जरुरी

 November 25, 2023  
Untitled

मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामा–चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँ अहिले गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिष दिने गर्छन् । यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैँ, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् । मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा–चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।’ यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेकका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको छ । सामा–चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनी प्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको छ । समा–चकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ÷टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ डढाउने चलन छ । ’कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैं सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ,’। ‘सामा’ भनेको दिदीबहिनी तथा ‘चकेवा’ भनेको दाजुभाइलाई बुझाउने गरेको हो । यो पर्वमा माटोको ‘समा–चकेवा’को भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् । दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समा–चकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको हो । कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामनासहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत्रूपमा अन्त्य गरिन्छ । सामा–चकेवा पर्वका लागि बजारमा थरी थरीका माटाका मूर्ति बिक्री गरेको भेटिन्छ । फुर्सदिला चेलीहरूले समा–चकेवामा प्रयोग हुने मूर्ति आफैँ बनाउँछन् भने केहीले बजारबाट खरिद गरेर ल्याउने गर्छन् । पञ्चमीदेखि दश दिनसम्म सामा–चकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा–चकेवालाई पुनः बनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा–चकेवालाई दही चिउरा खुवाएर सोही सामा–चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा–चकेवा फुटाउन लगाएर सामा–चकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । मिथिलाञ्चलमा यो पर्व परम्परागत रुपमा प्रत्येक साल मनाइने गरिन्छ । यो संस्कृतिलाई जोगाउन तथा यसलाई संरक्षण गर्न सरकारले समेत ध्यान दिन जरुरी छ ।संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा–चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् । कापडीका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा–चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा–चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरूप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा–चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।पद्म पुराणमा उल्लेख भएअनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर, श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरू लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको वीरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ ।आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् ।यसरी सोही दिनदेखि ‘सामा–चकेवा’ को पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । रासस