नेपाल–भारत सीमामा होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वरद्वारा पर्यटकलाई भव्य स्वागत – Jaleshwortoday

नेपाल–भारत सीमामा होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वरद्वारा पर्यटकलाई भव्य स्वागत

 September 30, 2026  
1

मो. इर्शाद

महोत्तरी, १४ असोज

महोत्तरी, असोज १४ गते । होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वर, महोत्तरीले विश्व पर्यटन दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार मुख्य सीमानााका भिठामोड पुगेर भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ गरेको छ।

बुधबार बिहानै सीमानााका पुगेका महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले जलेश्वर नगरपालिका–३ स्थित भिठामोड नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई खादा तथा अबिर लगाएर स्वागत गरेका थिए। नेपालको भ्रमण सकेर भारत फर्किने पर्यटकलाई पनि खादा तथा अबिर लगाएर बिदाइ गरिएको थियो।

होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वरका अध्यक्ष सरोज चौधरीले विश्व पर्यटन दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पर्यटकलाई स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस कार्यक्रमले नेपाल भ्रमणमा आउने पर्यटकलाई सकारात्मक सन्देश दिने बताउनुभयो।

नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य कमी आएको बताउँदै उहाँले पर्यटकलाई सकारात्मक सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमा मात्रै नभई महोत्तरी र जनकपुरमा पनि पर्यटनको राम्रो सम्भावना रहेको देखाउन यो कार्यक्रम आयोजना गरिएको हो।”

होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका महासचिव दीपेन्द्र पराजुलीले भारतीय पर्यटक धार्मिक पर्यटनका लागि बढी आउने गरेको बताउँदै महोत्तरीको मुख्य सीमानााका भिठामोडमा उनीहरूलाई स्वागत तथा बिदाइ गरिएको बताउनुभयो।

उहाँले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार जलेश्वरमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने बताउँदै मधेशमा पर्यटनको प्रशस्त सम्भावना रहेको र त्यसको प्रचारप्रसारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

सीमानााकामा भारतको छत्तिसगढ, राजस्थानको अजमेरलगायत स्थानबाट जनकपुर तथा पशुपतिनाथको दर्शनका लागि आएका पर्यटकले नेपालको प्रवेशविन्दुमै स्वागत पाएपछि खुसी व्यक्त गरेका थिए।

भारतको राजस्थानस्थित अजमेरबाट आउनुभएकी स्नेहलता चौधरीले आफूहरू जनकपुरस्थित जानकी मन्दिर र काठमाडौंको पशुपतिनाथको दर्शन गर्न आएको बताउनुभयो। पहिलोपटक नेपाल आएको बताउँदै उहाँले प्रवेशविन्दुमै मिठाई खुवाएर स्वागत गरेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई धन्यवाद दिनुभयो।

उहाँले भन्नुभयो, “हामी नेपालमा आएको बाढीका कारण डराउँदै–डराउँदै आएका थियौँ। तर प्रवेशविन्दुमै यसरी स्वागत पाएपछि हाम्रो गन्तव्य सहज हुने विश्वास बढेको छ।”

पर्यटकलाई स्वागत गर्न सीमानााकामा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारसहित सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख, होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारी र स्थानीयवासीको उपस्थिति थियो।