- प्रा.पवन कुमार साह
चालु आर्थिक वर्षको मंसिर माहिनासम्म मुलुकमा जम्मा २४ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार मंसिर महिनासम्म १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ भने २१ वटा उद्योग÷प्रतिष्ठानहरूले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिद सम्झौतामा लागानी भित्र्याउने प्रतिबद्धता जनाएका छन् । मंसिरसम्म लगानी प्रतिबद्धता जनाएका मध्ये तीन वटा उद्योग ठूला, ७ वटा मझौला र १८९ वटा उद्योग साना छन् । यो तथ्याङ्क पनि लगानी भित्रिएको होइन लगानी ल्याउने प्रतिबद्धता मात्रै हो । गत वर्ष देशभर कुल ८ लाख ४१ हजार ३७९ जनाले सूचीकृत बेरोजगारको सूचीमा आफूलाई दर्ता गरेका थिए । विवरण अनुसार गत वर्षभन्दा यो वर्ष करिब ८ हजार बढी बेरोजगार थपिएका छन् नेपाल राष्ट्र बैंकको विवरण अनुसार कात्तिकसम्म ३ अर्ब ७४ करोड कुल प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । गत वर्ष समीक्षा अवधिमा ४२ करोड ९२ लाख लगानी नेपाल भित्रिएको थियो । तथ्याङ्कमा विदेशी लगानी बढेको देखिए पनि जानकारहरू कोभिड महामारी र रूस–युक्रेन युद्धका कारण सृजित आर्थिक मन्दीको तुलनामा निर्वाचनपछिको बलियो सरकार बनेपछि पनि अपेक्षित रूपमा विदेशी लगानी नभित्रिएको जानकारहरू बताउँछन् । लगानीको वातावरण निर्माण गर्ने सरकार मातहतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ५ महिनाको पूँजीगत खर्चले मुलुकको लगानी वातावरण र औद्योगिक विकासको अवस्थालाई थप चित्रित गर्छ । आर्थिक वर्षको ५ महिनामा कुल पूँजीगत खर्च ५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको काम र कारबाहीप्रति आफैं निराश रहेका उद्योगमन्त्रीले मंगलबार मात्रै मातहतका कार्यालय प्रमुखहरूलाई काम नगर्ने भए बिदा हुन निर्देशन दिएका छन् । मन्त्रालयको यो पछिल्लो अवस्था र निजी क्षेत्रको बुझाइ हेर्दा औद्योगिक विकास र लगानीमैत्री वातावरण बितेको एक वर्षमा निरशामय रहेको देखिन्छ । निर्वाचन पछि बनेको सरकारको पहिलो वर्षमा नेपालमा भित्रिएको लगानीको यो तथ्याङ्क निराशाको संकेत भएको नेपाल उद्योग परिसंघले बताउँछन् । स्वदेशी लगानीकर्ताले नै काम गर्न लगानी गर्न नसकेको वर्तमान आर्थिक अवस्थाका कारण देशमा वैदेशिक लगानी समेत प्रभावित भएको विज्ञहरुले बताउँछन् । प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुअघिदेखि नै राष्ट्रिय, अन्तर्राष्ट्रिय कारणबाट बिग्रिएको लगानी र अर्थतन्त्रको वातावरण अहिले पनि उस्तै रहेको छ । ‘अहिले पनि देशैभरका उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलेका छन् । उद्योगहरू लगानी बिस्तार भन्दा पनि भएको लगानी समेत जोगाउन र श्रमजनशक्ति कटाउने अवस्थामा पुगेका छन’ । ‘आर्थिक अवस्था अप्ठ्यारो रह्यो, धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय कारणहरू पनि थिए तर सरकारबाट हुनेसम्मको काम पनि हुन सकेन । सरकार आर्थिक र औद्योगिक वातावरण बनाउने भन्दा पनि राजनीतिक रूपमै अल्झिएको देखियो ।’ त्यसकारण अहिले पनि समयमै उचित सुझबुझका साथ काम गर्न गराउन आवश्यक रहेको देखिन्छ ।
