महिला मुक्ति र पुरुषत्वको अध्ययन – Jaleshwortoday

महिला मुक्ति र पुरुषत्वको अध्ययन

 February 9, 2024  
Untitled

  • प्रा.पवन कुमार साह

पुरुषत्वको अध्ययन लैंगिक समानता र न्याययुक्त समतामूलक समाज स्थापनाको लागि महत्वपूर्ण छ । लैंगिक समानता प्राप्तिको लागि पुरुषप्रधान समाजको जग कमजोर पार्नु आवश्यक छ । सबैले नलागिकन पितृसत्ताको जग कमजोर हुँदैन । किनकि यसले धर्म, संस्कृति, अर्थतन्त्र, राजनीति सबै किसिमबाट आफ्नो प्रभुत्व कायम राख्न कोसिस गर्दछ । पुरुषप्रधान समाजको जग कमजोर पार्न प्राज्ञिक क्षेत्रबाट पनि सम्भव छ भन्ने कुरा व्यक्तिगत रूपमा हामी आफैंले पनि महसुस गरेका छौं र विविध अध्ययन अनुसन्धानले पनि यो देखाएको छ । तीन वटा मूल प्रश्नहरू (किन पुरुषत्वको अध्ययन महत्वपूर्ण छ, नारीवाद र यो अध्ययनको सम्बन्ध कस्तो छ , साथै, पुरुषत्वको अध्ययनको मुख्य चुनौती के के हुन– को जवाफ खोज्ने प्रयास गरेको छ । यसको लागि लैंगिक अध्ययनका १५ जना पुरुष विद्यार्थीसँग पाँच वर्षबीचमा गरिएको लामो र गहिरो कुराकानी नै सूचनाको प्रमुख आधार रहेको छ । त्यो बाहेक, लैंगिक अध्ययनसँग जोडिएका शिक्षक, विद्यार्थी र पुरुषत्व, पितृसत्ता र नारीवादसँग सम्बन्धी लेखहरू सूचनाका थप आधारहरू हुन् । लैंगिक अध्ययनसँगको मेरो लामो जोडाइकोे क्रममा पुरुष विद्यार्थीको कुराकानी, पुरुष भएकै कारणले उनीहरूले पाएका सुविधा र भोग्नुपरेका चुनौतीको बारेमा जान्ने, बुझ्ने मौका पनि मिलेको छ । पुरुषमुखी समाजले अर्थात् पितृसत्ताले महिलालाई विविध किसिमबाट मारमा पारेको विषयमा गहिरो रुचि राख्ने म र म जस्ता कैयौंलाई पितृसत्ताको मारको प्रकृति फरक भएता पनि पुरुषहरू पनि यसबाट उम्किन सकेका छैनन् । बरु आफैंलाई, प्रसिद्ध नारीवादी कमला भासिनको शब्द सापटी लिएर, यसको बाहक बनाएर वा बन्न दिएर मानवीय भावनाविहीन बनिरहेका छन् । त्यसको फाइदाको साथै नकारात्मक असर पनि भोगिरहेका छन् भन्ने बुझाइ आफैंमा महत्वपूर्ण छ । तर सबै पुरुषहरू पितृसत्ताको वाहक मात्र बनेका छैनन्, केही लैंगिक रूपमा सचेत पुरुषहरू लामो समयदेखि महिलाको लागि पितृसत्तालाई चुनौती दिन र हाल आएर आफ्नै लागि पनि पुरुषमुखी समाजको जालोबाट उम्किने प्रयासमा पनि छन् । पितृसत्तालाई चुनौती दिन पनि तयार देखिन्छन् । चुनौति दिने प्रयासहरू विविध छन् । तर उद्देश्य एकै छ । उदाहरणको लागि महिलामाथि हुने विभेद, उत्पीडन वा हिंसा अन्त्यको लागि पुरुषहरूको सञ्जाल मेन्स इन्गेजमेन्ट अलाइन्सेज साउथ एसिया, मेन्स इन्गेजमेन्ट अलाइन्स नेपाल, महिलाका लागि पुरुष अभियान हि फर सि क्याम्पेन, संयुक्त राष्ट्रसंघ इत्यादि । यही प्रयासको क्रममा कतिले लैंगिक अध्ययनलाई आफ्नो पढाइको विषय बनाएका छन् ।