पिपरा–१ बाल विवाहमुक्त वडा घोषणा, बाल अधिकार प्रवर्द्धनतर्फ ऐतिहासिक कदम – Jaleshwortoday

पिपरा–१ बाल विवाहमुक्त वडा घोषणा, बाल अधिकार प्रवर्द्धनतर्फ ऐतिहासिक कदम

 August 24, 2025  
2

आरजे इर्शाद शेख
महोत्तरी, ८ भाद्र

पिपरा गाउँपालिका–१ लाई आइतबार एक विशेष समारोहका बीच “बाल विवाहमुक्त वडा” को रूपमा घोषणा गरिएको छ। बाल अधिकार संरक्षण, लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक सचेतनाको दृष्टिकोणले यस कदमलाई ऐतिहासिक परिवर्तनको सुरुआतका रूपमा लिइएको छ।

समारोहको उद्घाटन गर्दै मधेस प्रदेशका अर्थमन्त्री सुनील कुमार यादवले बाल विवाहलाई समाजको समग्र विकासमा गम्भीर अवरोधको रूपमा टिप्पणी गरे।
“विवाह समयमै हुनु आवश्यक छ,” मन्त्री यादवले भने, “कम उमेरमा हुने विवाहले बालबालिकाको भविष्य अन्धकारमय बनाउँछ। शिक्षामा जोड दिई मात्र समाज अघि बढ्न सक्छ।”
उनले कार्यक्रममा प्लास्टिकको प्रयोग नगर्नसमेत आग्रह गर्दै वातावरण संरक्षणप्रति सचेतना फैलाउन आह्वान गरे।

रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले बाल विवाहलाई “भयावह सामाजिक रोग” को संज्ञा दिंदै, यसको अन्त्यका लागि क्लब निरन्तर सक्रिय रहने बताए।
“बाल विवाह हुने विवाहमा सहभागी नहुने संकल्प हामी सबैले यहीँबाट गर्नुपर्छ,” चौधरीले भने।

वडाध्यक्ष तथा वडा स्तरीय बाल अधिकार समितिका संयोजक राजेश कुमार दासले घोषणामात्र पर्याप्त नभई व्यवहारमा उतार्न समुदायको सक्रियता र सहभागिता आवश्यक रहेको उल्लेख गरे।
“वडा–१ लाई नमुना वडा बनाउने अभियानमा सबैको साथ, समन्वय र सहकार्य जरुरी छ,” उनले जोड दिए।

समारोहको अवसरमा रतौली युवा क्लबले पिपरा गाउँपालिकाको बाल कोष व्यवस्थापनका लागि रु. २ लाखको चेक हस्तान्तरण गरेको छ।
उक्त चेक गाउँपालिका उप–प्रमुख वन्दना पाण्डेलाई प्रदान गरिएको हो।
गाउँपालिकाले सो रकमलाई जोखिममा परेका बालबालिकाको संरक्षण, पुनर्स्थापना र सहयोगमा प्राथमिकताका साथ खर्च गरिने जानकारी दिएको छ।

स्थानीय बासिन्दाले वडाको यो नयाँ पहिचानलाई समुदायको चेतना, जागरूकता र परिवर्तनको प्रतिफलका रूपमा स्वागत गरेका छन्। वडा–१ मा हालै बाल अधिकार सम्बन्धी चेतनामूलक गतिविधिहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।

उक्त कार्यक्रम USAID, सेभ द चिल्ड्रेन, रतौली युवा क्लब, महिला जागरण समाज महोत्तरी, र पिपरा गाउँपालिकाको संयुक्त आयोजना र सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा बाल अधिकार समिति संयोजक राजेश कुमार दासले गरेका थिए।
प्रमुख अतिथि अर्थमन्त्री सुनील कुमार यादव थिए भने विशिष्ट अतिथिमा गाउँपालिका अध्यक्ष राम जानकी यादव, उप–प्रमुख वन्दना पाण्डे, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका उपरीक्षक हेरम्ब शर्मा, प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी,सेभ द चिल्ड्रेनका प्रतिनिधि उमेश कुमार गुप्ता (Sponsorship Program Manager)
सबै वडा का वडा अध्यक्षहरू साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीय युवा युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।