मो. इर्शाद
महोत्तरी, ५ असोज
महोत्तरीका एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा सञ्चालित ‘HATEMALO for Child Well-being and Integrated Development Project’ अन्तर्गतका विभिन्न कार्यक्रम तथा योजनाको दुईदिने जिल्लास्तरीय अनुगमन तथा सामाजिक परीक्षण सम्पन्न भएको छ।
असोज ३ र ४ गते सञ्चालन गरिएको अनुगमन तथा सामाजिक परीक्षणका क्रममा दुवै गाउँपालिकाका विभिन्न वडामा सञ्चालित शिक्षा, स्वास्थ्य, खानेपानी, बाल विकास, बाल संरक्षण तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमको स्थलगत अवलोकन गरिएको थियो।
कार्यक्रमको सहजीकरण आईआरडीएस (IRDS), दलित समाज कल्याण समिति नेपाल (DSWCN) तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालले गरेका थिए। सामाजिक परीक्षणको जिम्मेवारी हिमावत कन्सल्ट प्रालि., बुद्धनगर, काठमाडौंलाई दिइएको थियो।
सामाजिक परीक्षणका क्रममा संस्थाका कार्यकारी निर्देशक नवराज ढकालको नेतृत्वमा स्थलगत अवलोकन, सरोकारवालासँग छलफल तथा तथ्य सङ्कलन गरिएको थियो।
जिल्लास्तरीय सरोकारवालाको सहभागिता
जिल्लास्तरीय अनुगमन भएकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय, गैरसरकारी संस्था महासङ्घ नेपाल तथा नेपाल पत्रकार महासङ्घ महोत्तरीका प्रतिनिधिलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
त्यसैगरी, एकडारा र सम्सी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो।
अनुगमनका क्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, लाभग्राही, समुदाय तथा अन्य सरोकारवालासँग परियोजनाको कार्यान्वयन अवस्था, उपलब्धि, चुनौती र आगामी आवश्यकताका विषयमा छलफल गरिएको थियो।
खानेपानीदेखि विद्यालयका संरचनासम्म अनुगमन
अनुगमनका क्रममा विभिन्न वडामा निर्माण सम्पन्न तथा निर्माणाधीन खानेपानी संरचना, विद्यालयमा निर्माण गरिएका खानेपानी ट्याङ्की, विद्यालयका भौतिक संरचना तथा बालबालिकासँग सम्बन्धित शैक्षिक र सिकाइ कार्यक्रमको स्थलगत अवलोकन गरिएको थियो।
एकडारा गाउँपालिकामा निर्माण गरिएको सात हजार लिटर क्षमताको खानेपानी ट्याङ्की तथा सम्सी गाउँपालिकामा निर्माण गरिएका दुईवटा १० हजार लिटर क्षमताका खानेपानी ट्याङ्कीको अवस्थासमेत अनुगमन गरिएको थियो
विद्यालयमा विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन गर्न निर्माण गरिएको किचन, बाउन्ड्रीवाललगायतका संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो। बालबालिकाको अध्ययन तथा सिकाइमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएका सिकाइ कक्षा, बाल विकाससम्बन्धी गतिविधि तथा अन्य शैक्षिक कार्यक्रमको समेत अवलोकन गरिएको थियो।
बालबालिकाको शैक्षिक तथा सिकाइ सहयोगका लागि ४५ जना बालबालिकालाई किताब, खेलौना तथा अन्य आवश्यक सिकाइ सामग्री उपलब्ध गराइएको कार्यक्रमको पनि स्थलगत अनुगमन गरिएको थियो।
परियोजनाअन्तर्गत सञ्चालन गरिएका जीविकोपार्जन तथा आयआर्जनसम्बन्धी कार्यक्रमको समेत अनुगमन गरिएको थियो।
साइकल मर्मत व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई मेसिन तथा आवश्यक सामग्री सहयोग, गरिबीको रेखामुनि रहेका परिवारलाई किराना पसल सञ्चालन तथा आयआर्जनका लागि प्रदान गरिएको सहयोगको अवस्थाबारे जानकारी लिइएको थियो।
त्यसैगरी, १५ जना सहभागीका लागि सञ्चालन भइरहेको तीनमहिने सिलाइ–कटाइ तालिम तथा तालिमका लागि उपलब्ध गराइएका आवश्यक मेसिन र सामग्रीको अवस्थासमेत अनुगमन गरिएको थियो।
स्वास्थ्य संस्थातर्फ प्रसूति गृहमा गरिएको फोहोर व्यवस्थापन, निर्माण गरिएका संरचना, सेवा प्रवाह तथा स्थानीय समुदायले प्राप्त गरिरहेको लाभका विषयमा समेत स्थलगत जानकारी लिइएको थियो।
अनुगमनसँगै FY026 को प्रगति विवरणसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा परियोजनाको वार्षिक प्रगति, उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी कार्यदिशाका विषयमा सम्बन्धित संस्थाका प्रतिनिधिले प्रस्तुतीकरण गरेका थिए।
IRDS का Program Manager धर्मराज उप्रेती, DSWCN का Program Coordinator उत्तिम चन्द्र चौधरी तथा World Vision International Nepal, Mahottari का District Coordinator दिलीप यादवले आ–आफ्नो संस्थाको FY026 को प्रगति तथा प्रमुख उपलब्धिका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा IRDS का उपाध्यक्ष तथा कोषाध्यक्ष, DSWCN का Program Advisor पुनित कुमार चौधरी तथा General Secretary रवी भूषण ठाकुरलगायतको सहभागिता रहेको थियो।
प्रगति प्रस्तुतिका क्रममा बालबालिकाको सिकाइ तथा विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन, बाल संरक्षण तथा समुदायको सहभागितासँग सम्बन्धित कार्यक्रमबाट प्राप्त उपलब्धि र आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो।
सार्वजनिक सामाजिक परीक्षण
कार्यक्रमको अन्तिम दिन असोज ४ गते सार्वजनिक सामाजिक परीक्षण गरिएको थियो। सामाजिक परीक्षणका क्रममा परियोजनाअन्तर्गत सञ्चालन भएका गतिविधि, उपलब्धि, प्रभाव, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सरोकारवालाबीच छलफल तथा सुझाव आदानप्रदान गरिएको थियो।
परियोजनाका कार्यक्रम पारदर्शी, जवाफदेही तथा सहभागितामूलक ढङ्गले स्वीकृत योजना र उद्देश्यअनुसार कार्यान्वयन भए–नभएको विषयमा लाभग्राही, समुदाय, स्थानीय सरकार, सरकारी निकाय, कार्यान्वयन साझेदार तथा अन्य सरोकारवालाबाट प्रतिक्रिया सङ्कलन गरिएको थियो।
स्थलगत अवलोकन, लाभग्राही तथा समुदायसँगको छलफल, सरोकारवाला निकायसँगको अन्तरक्रिया तथा उपलब्ध तथ्य–प्रमाणका आधारमा परियोजनाको कार्यान्वयन अवस्था र प्रभावको समीक्षा गरिएको थियो।
सामाजिक परीक्षणबाट प्राप्त तथ्य, सुझाव तथा सरोकारवालाको प्रतिक्रियाका आधारमा हिमावत कन्सल्ट प्रालिले सामाजिक परीक्षण प्रतिवेदन तयार गर्ने जनाएको छ।
स्थानीय सरकार, जिल्ला तहका सरकारी तथा गैरसरकारी निकाय, कार्यान्वयन साझेदार, समुदाय तथा अन्य सरोकारवालाको सहभागितामा सम्पन्न अनुगमन तथा सामाजिक परीक्षणले HATEMALO परियोजनाका कार्यक्रमको कार्यान्वयन अवस्था, उपलब्धि, प्रभाव, पारदर्शिता तथा जवाफदेहिताबारे प्रत्यक्ष जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
