दिपक श्रेष्ठ मण्डल
शहीदनगर, ३ असार
धनुषाको शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यले नगरस्तरीय साक्षरता घोषणा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शहीदनगर नगरपालिकाको आर्थिक सहयोग तथा योग तथा इजोत सामुदायिक सिकाइ केन्द्र, बलाबाखरको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षा प्रेमी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
नगरपालिकाका मेयर दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा, शिक्षा शाखा प्रमुख प्रदीप मुखिया, योग तथा इजोत सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विश्वनाथ यादव, उपप्रमुख सुनीता सिंहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले साक्षर समाज निर्माणका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए। उनीहरूले शहीदनगरलाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने लक्ष्य पूरा गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
साक्षरता अभियानलाई प्रभावकारी बनाउन घरदैलो अभियान सञ्चालन, नियमित अनुगमन तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिइएको छ।
कार्यक्रममा सहभागीहरूले साक्षरता अभियानलाई सफल बनाउन विभिन्न सुझावसमेत दिएका थिए। नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा निरक्षरता अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
