महिला जनप्रतिनिधिहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला – Jaleshwortoday

महिला जनप्रतिनिधिहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला

 June 22, 2026  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ असार

मधेश प्रदेशका महिला जनप्रतिनिधिहरुका लागि बाल केन्द्रित तथा लैंगिकता उत्तरदायी योजना तथा बजेट तर्जुमा सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यशाला जनकपुरधाममा सम्पन्न भएको छ ।

युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा लाइफ नेपालद्वारा संचालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई बाल केन्द्रित तथा लैंगिकता उत्तरदायी योजना तथा बजेट तर्जुमा सम्बन्धी दुई दिन क्षमता अभिवृद्धि कार्याशाला आयोजना गरिएको थियो ।

स्थानीय तहहरूमा लैङ्गिक उत्तरदायी बजेटलाई समग्र बजेट प्रणालीको अभिन्न अङ्गका रूपमा नभई सीमित रूपमा महिला लक्षित बजेट का रूपमा बुझ्ने प्रवृत्ति रहेको देखाएको छ । स्थानीय तहमा महिला बाल केन्द्रित तथा लैंगिकताको अर्थपूर्ण सहभागिता अझै सीमित रहेको बारे कार्याशालामा छलफल भएको थियो ।

यद्यपि, कुल बजेटमा लैङ्गिक उत्तरदायी बजेट सुनिश्चित गर्ने स्पष्ट अभ्यास पर्याप्त नभए पनि स्थानीय तहमा महिलालाई लक्षित गरी बजेट विनियोजन गर्ने तथा त्यसलाई व्यवहारिक कार्यक्रम र पहलमार्फत कार्यान्वयनमा लैजाने प्रयास क्रमशः बढ्दै गएको जनप्रतिनिधिहरुले स्वीकार गरिन् ।

कार्याशालामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, सिरहा जिल्लाको नवराजपुर गाउँपालिका र पर्सा जिल्लाका बिन्दवासिनी गाउँपालिका गरि ४ स्थानीय तहका उप–प्रमुख लगायत ४५ जना निर्वाचित महिला जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।

स्थानीय तहमा बालकेन्द्रित तथा लैंगिकता उत्तरदायी योजना तथा बजेटको आवश्यता र महत्व बारे महिला जनप्रतिनिधिहरुलाई जानकारी गराउदै प्रेरित गर्ने उद्येश्यले आयोजित कार्याशालामा दुई दिनसम्म नीतिगत सुधार र यसको लागि गर्नुपर्ने पहलबारे गहन छलफल भएको अध्यक्ष ठाकुरले बताए । महिला तथा लैंगिक समानता प्रवर्धनका लागि सरकारले ल्याउने लैंगिक उत्तरदायी बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि महिला जनप्रतिनिधिहरुलाई दुई दिनसम्म संचालन भएको कार्यशालाको विभिन्न सत्रमार्फत जानकारी गराएको उनले बताए ।

बाल केन्द्रित तथा लैंगिकता उत्तरदायी योजना सम्बन्धी बजेट प्रणाली अझै प्रभावकारी बन्न नसकेको औंल्याएको छ ।

लक्षित वर्गका लागि विनियोजन गरिएको बजेट वास्तविक रूपमा खर्च भए–नभएको विषयमा प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जनप्रतिनिधिहरुको जोड थियो ।

महिला लक्षित बजेट, खर्चको प्रभावकारिता, सीमान्तकृत समुदायको पहुँच तथा नीति कार्यान्वयनका चुनौतीबारे समेत विश्लेषण गरेको छ ।

बजेट कार्यान्वयनका सन्दर्भमा नीतिगत, संस्थागत तथा व्यवहारिक तहमा विद्यमान चुनौती र सम्भावनाहरूबारे समेत छलफल गरिएको थियो ।

कार्याशालामा युनिसेफका मधेश प्रदेश प्रमुख अनिता दाहाल, कार्यक्रम अधिकृत विष्णु भट्टराई, विष्णु नेपाली, खेलकूद तथा समाज कल्याण मन्त्रालयका निर्मला मिश्रा, युएनएफपीएका प्रिति शर्मा र अशोक झा लगायतको उपस्थिति रहेको थियो ।