मो.इर्शाद
महोत्तरी, ८ असार
भारतको उत्तर प्रदेशस्थित राजधानी लखनऊको अलीगञ्ज क्षेत्र अन्तर्गत पर्ने पुरनिया इलाकामा सोमबार एक भवनमा लागेको भीषण आगलागीमा हालसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
यस दर्दनाक घटनाले सम्पूर्ण लखनऊ शहरलाई स्तब्ध बनाएको छ। आगलागीपछि भवनभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गरिएको थियो। दमकलका अनेकौं गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन र फसेकाहरूको उद्धार गर्न खटिएका थिए।
प्राप्त जानकारीअनुसार घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण खुल्न नसकेको भन्दै प्रशासनले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्रीले समेत घटनास्थलको निरीक्षण गर्दै उद्धार तथा राहत कार्यको जानकारी लिएका छन्। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरिएको छ।
