दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, २२ साउन
जनकपुरधाम उपमहानगरपालिका–११ लाई ‘साक्षर वडा’ घोषणा गरिएको छ। श्री हनुमान सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा वडा नं. ११ लाई औपचारिक रूपमा साक्षर वडा घोषणा गरिएको हो।
कार्यक्रमको अध्यक्षता श्री हनुमान सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष उषा साहले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडाध्यक्ष अर्जुन चौधरी तथा विशिष्ट अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेय सहभागी भएका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, शिक्षाकर्मी, शिक्षा क्षेत्रका सरोकारवाला तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
साक्षर वडा घोषणा कार्यक्रममा बोल्दै सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष उषा साहले वडा नं. ११ लाई साक्षर बनाउने अभियानमा केन्द्रले निरन्तर भूमिका निर्वाह गर्दै आएको बताइन्। वडाका घरधुरी तथा आवश्यक तथ्यांक संकलन, अध्ययन, सरोकारवालासँग समन्वय तथा निरन्तर प्रयासपछि वडा साक्षर घोषणा गर्न सफल भएको उनले बताइन्।
“वडालाई साक्षर बनाउने लक्ष्यसहित हामीले आवश्यक तथ्यांक संकलनदेखि निरन्तर मेहनत गर्यौँ। सबैको सहयोग र सहकार्यका कारण आज वडा नं. ११ लाई साक्षर वडा घोषणा गर्ने अवस्थामा पुगेका छौँ,” अध्यक्ष साहले भनिन्।
उनले साक्षरता अभियान सफल बनाउन जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेयको सहयोग, समन्वय र सकारात्मक भूमिकासमेत महत्वपूर्ण रहेको बताइन्।
कार्यक्रममा वडाध्यक्ष अर्जुन चौधरीले वडा नं. ११ लाई साक्षर वडा घोषणा गर्न सम्भव हुनु सबै पक्षको सार्थक प्रयासको परिणाम भएको बताए। उनले जनप्रतिनिधि, सामुदायिक सिकाइ केन्द्र, शिक्षक, शिक्षाकर्मी तथा स्थानीयवासीको सामूहिक प्रयास र सहकार्यले अभियान सफल भएको संक्षिप्त प्रतिक्रिया दिए।
त्यस्तै, शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेयले साक्षरता अभियानलाई घोषणामै सीमित नराखी जनकपुरधाम उपमहानगरपालिकालाई नै पूर्ण रूपमा साक्षर बनाउने अभियान अघि बढाइने बताइन्। उनले नगरका सबै वडालाई साक्षर बनाउने अभियानका लागि आवश्यक तयारी र योजना तय भइसकेको जानकारी दिइन्।
“जनकपुरधाम उपमहानगरपालिकालाई पूर्ण रूपमा साक्षर बनाउने अभियानलाई हामीले प्राथमिकतामा राखेका छौँ। त्यसका लागि आवश्यक तयारी र योजना तय भइसकेको छ। अबको दुई–तीन महिनाभित्र औपचारिक कार्यक्रममार्फत सम्पूर्ण जनकपुरधाम उपमहानगरपालिकालाई साक्षर घोषणा गर्ने गरी अभियान अघि बढाउने हाम्रो लक्ष्य छ,” पाण्डेयले भनिन्।
कार्यक्रममा वक्ताहरूले वडा साक्षर घोषणा हुनु केवल औपचारिक उपलब्धि नभई शिक्षा, सामाजिक चेतना र नागरिक सशक्तीकरणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताए। साक्षर घोषणा गरेपछि अभियानको जिम्मेवारी समाप्त नहुने भन्दै उनीहरूले प्राप्त उपलब्धिलाई दिगो बनाउन निरन्तर सिकाइको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
शिक्षाबाट वञ्चित नागरिकलाई शिक्षाको मूलधारमा ल्याउन स्थानीय सरकार, सामुदायिक सिकाइ केन्द्र, विद्यालय, शिक्षक तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको सहभागीहरूले बताए। साक्षरतालाई व्यवहारिक जीवनसँग जोड्दै नागरिकमा पढ्ने, लेख्ने, बुझ्ने र निरन्तर सिक्ने संस्कारको विकास गर्नुपर्नेमा समेत जोड दिइयो।
जनकपुरधाम–११ साक्षर वडा घोषणा भएसँगै अब प्राप्त उपलब्धिलाई दिगो बनाउँदै निरन्तर सिकाइको अभियानलाई प्रभावकारी बनाउने तथा बाँकी वडाहरूमा समेत साक्षरता अभियान विस्तार गर्ने जिम्मेवारी स्थानीय सरकार र सम्बन्धित सरोकारवालामाथि थपिएको छ। शिक्षा शाखाको योजनाअनुसार आगामी दुई–तीन महिनाभित्र सम्पूर्ण उपमहानगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यले अभियानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ।
