वीरगन्जमा उठ्यो उपभोक्ता अदालतको माग,ऐन ल्याउन पहल गर्ने मन्त्री पटेलको प्रतिबद्धता – Jaleshwortoday

वीरगन्जमा उठ्यो उपभोक्ता अदालतको माग,ऐन ल्याउन पहल गर्ने मन्त्री पटेलको प्रतिबद्धता

 August 17, 2026  
1

दिपक श्रेष्ठ मण्डल
विरगंज, ३१ श्रावण

देशकै प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र वीरगन्जमा उपत्यकाबाहिरको पहिलो उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्। ठूलो व्यापारिक कारोबार हुने वीरगन्जमा उपभोक्ताका समस्या, अधिकार तथा गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न छुट्टै उपभोक्ता अदालत आवश्यक रहेको उनीहरूको भनाइ छ।
उपभोक्ता हित संरक्षण मञ्च पर्साले आयोजना गरेको ‘उपभोक्ता अदालतको स्थापना, सञ्चालन तथा विस्तार र नसर्ने रोग रोकथाम’ विषयक अन्तरक्रियामा सहभागीहरूले वीरगन्जको आर्थिक महत्वलाई आधार बनाउँदै उपभोक्ता अदालत स्थापनाका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिस पटेलले मधेश प्रदेशमा उपभोक्ता ऐन निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले वीरगन्जमा उपभोक्ता अदालत स्थापना गर्ने विषयमा मन्त्रालयका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए।
मन्त्री पटेलले उपभोक्ताको अधिकार संरक्षणसँगै न्यायमा सहज पहुँच सुनिश्चित गर्न संस्थागत संरचना बलियो बनाउनुपर्नेमा जोड दिँदै उपभोक्ता अदालतको कार्यक्षेत्र र पहुँच विस्तार समयको आवश्यकता भएको बताए।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा मदिरा सेवनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताए। उनले नसर्ने रोगबाट हुने अकाल मृत्यु न्यूनीकरणका लागि व्यक्तिगत सचेतनादेखि सरकारी तहसम्म निरन्तर र प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उपभोक्ता हित संरक्षण मञ्च पर्साका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको सहजीकरण केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले गरेका थिए।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापा, वीरगन्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, बार एसोसिएसन पर्सा, ज्येष्ठ नागरिक संघ तथा मानव अधिकार क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
सोही अवसरमा उपभोक्ता अधिकारका विषयमा निरन्तर कलम चलाउँदै आएका पत्रकार निरज पिठाकोटे, तुलसी भण्डारी र अजितकुमार भुजेल तथा अधिकारकर्मी अजय अधिकारीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।