शिक्षा सुधारमा तीनै तहबीच समन्वय आवश्यक : मन्त्री सिंह – Jaleshwortoday

शिक्षा सुधारमा तीनै तहबीच समन्वय आवश्यक : मन्त्री सिंह

 August 20, 2026  
2

दीपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ४ भदौ
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले मधेशको शैक्षिक अवस्था सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय युवा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले सातवटै प्रदेशमध्ये मधेशको शैक्षिक अवस्था कमजोर रहेकाले शिक्षा क्षेत्रको सुधारलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले शिक्षा क्षेत्र कमजोर अवस्थामा रहेसम्म मधेशको समग्र विकासले गति लिन नसक्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए।
मन्त्री सिंहले मधेशको शैक्षिक अवस्था नाजुक रहेको जानकारी हुँदाहुँदै पनि संघीय सरकारले प्रदेशलाई आवश्यक विशेष तथा सशर्त अनुदान उपलब्ध नगराएको गुनासो गरे। प्रदेश सरकारलाई पर्याप्त अधिकारसमेत नदिइएको उनको भनाइ थियो।
‘एकातिर प्रदेश सरकारलाई अधिकार दिइएको छैन, अर्कोतर्फ मधेशको शैक्षिक अवस्था नाजुक हुँदाहुँदै संघ सरकारले न विशेष अनुदान दियो, न सशर्त अनुदान नै,’ उनले भने।
प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई सूचना प्रविधि, सीप र रोजगारीसँग जोडेर अघि बढाउने तयारी गरिरहेको मन्त्री सिंहले जानकारी दिए।
कार्यक्रममा एनसीई नेपालका केन्द्रीय सचिव कमलेश मण्डलले युवाको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। सार्वजनिक शिक्षा सुधारका लागि रचनात्मक संवादको वातावरण निर्माण गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको उनले बताए।
सम्मेलनमा मधेश प्रदेशका प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका युवाहरूको सहभागिता रहेको थियो।