ओम प्रकाश
जनकपुरधाम, २ भदौ
जनकपुरधाममा सामाजिक सेवा र मानवीय कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले लायन्स क्लब अफ जनकपुरधाम रोयल्सको गठन गरिएको छ। नवगठित क्लबको चार्टर्ड प्रेसिडेन्टमा दुर्गेश साह चयन भएका छन्।
जनकपुरधाम उद्योग वाणिज्य संघका सदस्य तथा रामजानकी युवा कमिटीका सचिव समेत रहेका साहले नयाँ जिम्मेवारी सँगै सामाजिक सेवाका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साहले क्लबको नेतृत्व गर्दै जनकपुरधाममा सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्राथमिकतामा राखिने बताएका छन्। उनले समाजमा आवश्यक रहेका वर्ग तथा समुदायलाई सहयोग पुर्याउने, युवालाई सामाजिक सेवामा जोड्ने र मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेको उल्लेख गरेका छन्।
उनको नेतृत्वमा गठित लायन्स क्लब अफ जनकपुरधाम रोयल्सले आगामी दिनमा स्वास्थ्य, शिक्षा, विपन्न तथा असहाय लाई सहयोग लगायत विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।
नवगठित क्लबका चार्टर्ड प्रेसिडेन्ट दुर्गेश साह सहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
