दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ८ भदौ
समुदायस्तरमै सम्भावित रोग तथा स्वास्थ्यसम्बन्धी घटनाको प्रारम्भिक पहिचान गरी समयमै सूचना प्रवाह गर्ने उद्देश्यले समुदायमा आधारित रोग निगरानी प्रणाली (SORMAS) सम्बन्धित सरोकारवालाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
PHRD को आयोजनामा तथा युनिसेफको आर्थिक सहयोगमा आयोजित अभिमुखीकरणमा समुदायमा आधारित रोग निगरानी प्रणालीको प्रभावकारी प्रयोग, रोग तथा स्वास्थ्यसम्बन्धी घटनाको पहिचान, सूचना संकलन र रिपोर्टिङ प्रक्रियाबारे सहभागीलाई जानकारी दिइएको थियो।
कार्यक्रमको संयोजन लेखनाथ यादवले गरेका थिए भने हंसपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिखा झा कार्यक्रम व्यवस्थापकका रूपमा सक्रिय रहेकी थिइन्। त्यसतै कार्यक्रममा जनस्वास्थ्य निरीक्षक सुजित मण्डलले सहजीकरण गरेका थिए। स्थानीय तहमा रोग निगरानी प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र समुदायमैत्री बनाउँदै सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान तथा सूचना सम्प्रेषणलाई सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको आयोजकले जनाएको छ।
हंसपुर नगरपालिकाका वडा अध्यक्ष उदय कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणमार्फत समुदायमा देखापर्न सक्ने सम्भावित रोग तथा स्वास्थ्यसम्बन्धी घटनाको प्रारम्भिक पहिचानदेखि सम्बन्धित स्वास्थ्य निकायसम्म सूचना पुर्याउने प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट रोगको जोखिम न्यूनीकरण, समयमै सूचना प्रवाह तथा समुदायको स्वास्थ्य सुरक्षालाई सुदृढ गर्न योगदान पुग्ने आयोजकको विश्वास रहेको छ।
