मो. इर्शाद
महोत्तरी, १८ भाद्र
महोत्तरी । रसुवा, नुवाकोट तथा धादिङलगायतका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रतौली युवा क्लब (RYC), महोत्तरीले रु. १ लाख ५० हजार सहयोग गरेको छ।
क्लबले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभियानअन्तर्गत क्लबले सहयोग रकम प्रदान गरेको हो।
सहयोग रकम जम्मा गरिएको बैंक भौचर तथा आवश्यक कागजातहरू आज जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा प्रमुख जिल्ला अधिकारीसमक्ष औपचारिक रूपमा बुझाइएको क्लबले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा पीडित समुदायलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस मानवीय अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने क्लबका सदस्य, शुभेच्छुक, कर्मचारी, दाता तथा सहयोगीहरूप्रति रतौली युवा क्लबले आभार व्यक्त गरेको छ।
क्लबले विपद्को समयमा पीडित समुदायको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको उल्लेख गर्दै बाढी प्रभावित परिवारको शीघ्र राहत, पुनर्स्थापना तथा सामान्य जीवनमा फर्कने वातावरण निर्माण होस् भन्ने कामना गरेको छ।
“मानवताभन्दा ठूलो धर्म छैन, सहयोगभन्दा ठूलो सेवा छैन।”
