मटिहानी नगरपालिकाद्वारा तत्काल ५ लाख सहयोग – Jaleshwortoday

मटिहानी नगरपालिकाद्वारा तत्काल ५ लाख सहयोग

 September 1, 2026  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महोत्तरीको मटिहानी नगरपालिकाले तत्काल ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले भदौ १० गते तिब्बत–नेपाल सीमा क्षेत्रबाट भोटेकोशी नदी हुँदै आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । प्रेस विज्ञप्तिमार्फत नगरपालिकाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना र सहज जनजीवनका लागि शुभकामना व्यक्त गरेको छ । राष्ट्रिय विपद्को समयमा मटिहानी नगरपालिका को साथ,सहयोग र ऐक्यबद्धता रहने नगर प्रमुख हरि प्रसाद मण्डलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । नगर प्रमुख मण्डलले बाढी पहिरोमा परी सम्पर्क बिहिन हुन पुग्नु भएका मटिहानी नगरपालिका वडा नं.—७ निवासी करिब ४० वर्षिय गंगाराम मण्डलको यथासिघ्र खोज पडताल र उद्धार गरिदिनु हुन सरकारसँग हार्दिक अनुरोध गर्नु भएको छ ।

22