दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, १५ भदाै
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनुषाको धनौजी गाउँपालिकाले २२ लाख १५ हजार ५१५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। त्यस्तै, गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट रकम कट्टा गरी थप १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गरिएको छ।
गाउँपालिकाले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राज्यका निकाय, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले विपद्का बेला गरिने सहयोग आर्थिक योगदानमा मात्र सीमित नरही पीडितप्रतिको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र एकताको प्रतीकसमेत भएको बताए।
धनौजी गाउँपालिकाको निर्णयले विपद्मा परेका नागरिकप्रति स्थानीय तहले देखाएको मानवीय संवेदना र सहकार्यको भावना प्रतिबिम्बित गरेको छ।
