नेपाल सरकारले सहयोग लिनमा सक्रियता देखाउन जरुरी – Jaleshwortoday

नेपाल सरकारले सहयोग लिनमा सक्रियता देखाउन जरुरी

 August 30, 2026  

नेपाल सरकारले अहिले विपदको बखत सबै देश,सबै वर्ग तथा सबैसँग सहयोग लिनमा सक्रियता देखाउन जरुरी रहेको देखिन्छ । रसुवा तथा त्यसका आसपासका क्षेत्रमा बाढीबाट पर्न गएको क्षतिको आँकल यकिन गर्न कठिन रहेको छ । अहिले पनि सुरुङ भित्र धेरै प्राविधिक कर्मचारी तथा श्रमिकहरु फसेको हुन सक्छन् जसलाई उद्धार गर्न अति आवश्यक रहेको देखिन्छ ।
पाँच दिन अगाडी नै भारत तथा चिनको सहयोग लिई सुरुङ भित्रबाट बचाउने कार्य गरिएको भए शायद धेरै जनालाई बचाउन तथा उद्धार गर्न सकिन्थ्यो होला । नेपाल सरकारले यस परिवेशमा सहयोग लिनबाट टाढा रहनु बुद्धिमानी होइन । किनभने बिपदको बेला एउटा सामान्य परिवारमा समेत सहयोग दिनेलाई फर्काइदैन । शायद हामीले पनि देशमा बिपतिका बेला सहयोग गर्ने छिमेकीलाई सम्मानका साथ सहयोग स्वीकार गर्नु पर्दछ । सहयोग लिदैमा हामी सानो तथा अरु ठूलो हुने होइन ।
यस पटकको राष्ट्रिय बिपदले पहाड तथा हिमालमा बस्ने समुदायले भारत पक्कै नै हाम्रो आफ्नो छिमेकी मात्र होइन आफ्नै परिवारको सदस्य रहेको बुझेका छन् । नेपाल भन्दा कैयौं गुणा ठूलो रहेको भारतले शुरुमा सहयोग नमागे पनि १० टन जति सहयोग सामाग्रीहरु पठाएका थिए । अहिलेसम्म ४ पटक सहयोग सामाग्रीहरु पठाई सकेका छन् । यसलाई सहर्ष स्वीकार गर्नु नै बुद्धिमानी हुने छ । भारतको उदारताबाट हामीले सिक्नुपर्छ।
सामाजिक सञ्जाल मार्फत कैयौं भारतीयहरुले व्यक्तिगत रुपमा समेत नगद तथा आवश्यक सामान पठाएर सहयोग गर्न चाहेका छन् जसलाई सहज बनाउन नेपाल सरकारले कुटनैतिक पहल गर्न आवश्यक छ । भारतबाट नेपालमा भुक्तानी एपबाट सहयोग जुटाउने बाटो खोलिए नेपाललाई आवश्यक पर्ने सहयोग संकलनमा सहयोग पुग्ने देखिन्छ। त्यसैगरी नेपालबाट बाहिर बसिरहेका नेपाली तथा अन्य बिदेशीहरुले समेत सहयोग गर्न चाहेका छन् । यसको लागि नेपाल सरकारले विशेष पहल गर्न जरुरी छ ।