दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ११ भदौ
श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा सेवामूलक कार्यक्रमसहित मनाउन थालेको छ। स्थापना दिवसको पहिलो दिन बिहीबार सरसफाइ, वृक्षारोपण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
कमिटी परिसरमा बिहान आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुष्पराज भट्टको नेतृत्वमा ३० जना सुरक्षाकर्मी सहभागी भएका थिए। सुरक्षाकर्मीहरूले कमिटी परिसरको सरसफाइ गर्नुका साथै वातावरण संरक्षणको सन्देश दिँदै वृक्षारोपणमा समेत सहभागिता जनाएका थिए।
त्यसैगरी, स्थापना दिवसको अवसरमा बिहीबार राति दीप प्रज्वलन कार्यक्रमसमेत गरिएको थियो।
कमिटीका अध्यक्ष विजय शाहले स्थापना दिवसलाई केवल उत्सवमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार सरसफाइ तथा वृक्षारोपणसँगै दीप प्रज्वलन, मानव सेवा आश्रममा निःशुल्क भोजन र रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
नेपालमा प्राकृतिक विपद् तथा बाढीका कारण जनजीवन प्रभावित भई देश शोकमग्न अवस्थामा रहेकाले यस वर्ष स्थापना दिवसमा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताए। विपद्बाट प्रभावित नागरिकप्रति संवेदनशीलता जनाउँदै स्थापना दिवसलाई सामाजिक सेवामुखी कार्यक्रममै केन्द्रित गरिएको उनले जानकारी दिए।
कमिटीका अनुसार भदौ १२ गते शुक्रबार साँझ ६ बजे मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिनेछ। त्यसैगरी, भदौ १३ गते शनिबार बिहान ९ बजेदेखि जनकचोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।
सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएका कार्यक्रममा स्थानीय युवा, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहने कमिटीले जनाएको छ।
सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा कमिटीका उपाध्यक्ष दीपक कुमार साह,पूर्व अध्यक्ष प्रमोद चौधरीलगायतको उपस्थिति थियो।
३६औँ स्थापना दिवसलाई सामाजिक उत्सवका रूपमा अघि बढाउँदै सरसफाइ, वातावरण संरक्षण, मानव सेवा र रक्तदानमार्फत समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्य रहेको कमिटीले जनाएको छ।
