सम्मानपूर्वक शवको अन्त्येष्टि गरौं – Jaleshwortoday

सम्मानपूर्वक शवको अन्त्येष्टि गरौं

 September 6, 2026  

बाढीमा परी ज्यान गुमाउनेहरुका शवको अन्त्येष्टि सम्मानपूर्वक हुन जरुरी छ । शवलाई पहिचान नभएसम्मका लागि अस्थायी रूपमा प्लास्टिकको झोलामा राखेर माटोमा सुरक्षितसाथ गाड्ने नै सबैभन्दा उत्तम र वैज्ञानिक उपाय रहेको देखिन्छ । शव कुहिने प्रक्रिया गाडिएको स्थानको माटो, तापक्रम, चिस्यान, पानीको अवस्था, गाड्ने गहिराइ, शवको अवस्था तथा प्रयोग गरिएको व्यवस्थापन विधिमा निर्भर गर्छ । जमिनमुनि शव राख्दा हावा कम र चिसो हुने भएकाले डिकम्पोजिसनको प्रक्रिया केही कम हुने देखिन्छ । तीन महिनासम्म कुहिने प्रक्रिया ढिलो भए पनि त्यसपछि नरम तन्तुहरू कुहिँदै जाने र एक वर्षमा शव अस्थिपञ्जर मात्र रहन्छन । कुहिन लागेका शवमा रासायनिक पदार्थ, चुना, बरफ वा ड्राई आइसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन । केमिकलले गर्दा उद्धारमा खटिने कर्मचारी तथा स्वयंसेवकहरूलाई श्वासप्रश्वासको गम्भीर समस्या र केमिकल निमोनिया -केमिकल निमोनाइटिस) हुन सक्ने तथा बरफ पग्लेर कुहिएको तरल पदार्थ झन् धेरै फैलिने खतरा रहेको देखिन्छ । विगत २०७२ सालको भूकम्पपछि पनि शिक्षण अस्पताल परिसरमा ३२ वटा पहिचान नभएका शव माटोमै गाडेर राखिएका थिए । हालसम्म २ वटाको पहिचान भए पनि अन्य ३० वटा त्यहीँ नै छ । कानुनले पहिचान नभएका वा दाबी गर्न नआएका शवहरूलाई १२ वर्षसम्म सुरक्षित राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको देखिन्छ । मानवअधिकार जीवित व्यक्तिको अधिकार मात्र होइन, मृत्युपछि सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकार पनि उत्तिकै महत्वपूर्ण रहेको देखिन्छ ।