नौवाखोरमा इन्द्र पूजाको रौनक, कलश यात्रामा उमंगपूर्ण सहभागिता – Jaleshwortoday

नौवाखोरमा इन्द्र पूजाको रौनक, कलश यात्रामा उमंगपूर्ण सहभागिता

 September 23, 2026  
1

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ७ असोज

धनुषाको हंसपुर नगरपालिका–७, नौवाखोरमा श्री श्री १०८ श्री इन्द्र पूजाको अवसरमा भव्य कलश यात्रा निकालिएको छ। धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक एकताको सन्देश बोकेको कलश यात्रामा महिला, युवा तथा स्थानीय श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।

परम्परागत विधि र धार्मिक संस्कारअनुसार निकालिएको यात्राले नौवाखोरको धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उल्लासमय बनाएको थियो। कलश यात्राका क्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिताले समुदायमा धार्मिक आस्था, आपसी सद्भाव र भाइचाराको भावना झल्किएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता मनोज कुमार यादव, देवकृष्ण मण्डल, विनोद कुमार साहलगायत स्थानीय अगुवा तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता यादवले संस्कृति र परम्परा कुनै एक पुस्ताको मात्र सम्पत्ति नभएको बताए। उनले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परासँग जोड्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

उनले धार्मिक आस्थालाई सामाजिक सद्भाव, प्रेम र सहकार्यको माध्यम बनाउनुपर्नेमा जोड दिँदै यस्ता पर्व तथा पूजाले समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए।

कलश यात्रामा सहभागी स्थानीय श्रद्धालुहरूले इन्द्र पूजाले धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याएको बताएका छन्। उत्साहपूर्ण सहभागिताबीच सम्पन्न कलश यात्राले नौवाखोरमा धार्मिक तथा सांस्कृतिक उत्सवको रौनक थपेको थियो।