दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, २६ असोज
पूर्वमन्त्री दीपक कुमार साहले जनकपुरधामलाई प्राचीन धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहरका रूपमा विश्वस्तरमा स्थापित गर्दै यसको सर्वाङ्गीण विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ। जनकपुरधाम उपमहानगरपालिका–३ स्थित माँ भगवती स्थानमा आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जनकपुरधामका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका ५२ कुण्ड र विभिन्न मठमन्दिरको खोज, अनुसन्धान, संरक्षण तथा एकीकृत विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो। जनकपुरधामलाई ‘कुण्डै कुण्डको सहर’ का रूपमा स्थापित गर्दै जानकी मन्दिरलगायत धार्मिक स्थलको प्रचारप्रसार र पर्यटकीय आकर्षण बढाउन सके स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो। उहाँले बडादशैँ, दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, भ्रातृत्व र एकता सुदृढ बनाउने उल्लेख गर्दै सम्पूर्ण देशवासी, मधेशवासी तथा जनकपुरवासीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह (बालेन) को नेतृत्व र सहकार्यबाट देशमा सकारात्मक राजनीतिक परिवर्तन र विकासको नयाँ वातावरण निर्माण हुने अपेक्षा व्यक्त गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवा, सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा रास्वपाका नगर सभापति ललन नायक, स्थानीय संयोजक मनोज मण्डल, रेखा देवी मण्डल, सुनिता देवी दास, सोनबती महरा, रास्वपाका वडा सभापति सन्दीप कुमार साहलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
