एकडारामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न, उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्र – Jaleshwortoday

एकडारामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न, उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्र

 October 13, 2026  
4

मो. इर्शाद

महोत्तरी, २७ असोज

महोत्तरीको एकडारा गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समीक्षा गोष्ठी मंगलबार सम्पन्न भएको छ। गोष्ठीमा गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, स्वास्थ्य संस्थाको कार्यसम्पादन, सेवा प्रवाहमा देखिएका चुनौती तथा चालु आर्थिक वर्षका प्राथमिकताबारे समीक्षा गरिएको छ। सोही अवसरमा स्वास्थ्य सेवामा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ।

5

एकडारा गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा एकडारा स्वास्थ्य चौकीको सभाहलमा असोज २६ र २७ गते आयोजना गरिएको गोष्ठीमा गाउँपालिकाभित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो संस्थाबाट प्रवाह गरिएका स्वास्थ्य सेवाको अवस्था र उपलब्धिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाहका क्रममा देखिएका समस्या, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उपायका विषयमा छलफल गरिएको थियो।

गोष्ठीको मुख्य उद्देश्य गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको उपलब्धि र कमजोरी पहिचान गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक रणनीति र कार्ययोजना तय गर्नु रहेको थियो। समीक्षा प्रक्रियाबाट प्राप्त सुझावका आधारमा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउने विषयमा जोड दिइएको थियो।

गोष्ठीका अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा योगदान पुर्‍याउने पाँच जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ। प्रशंसापत्र प्राप्त गर्नेमा सी. अनमी बविता कुमारी मण्डल,जन स्वास्थ्य निरीक्षक राम सजन साह, एकडारा आधारभूत स्वास्थ्य सेवा केन्द्रका अधिकृत छैटौँ तहका सी.अ हेव दयाशंकर मिश्र, गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत छैटौँ तहका इब्राहिम नदाफ र स्वास्थ्य शाखा प्रमुख महेन्द्र कुमार मण्डल रहेका छन्।
स्वास्थ्य सेवा प्रवाहमा संलग्न जनशक्तिको योगदानको कदर गर्दै प्रदान गरिएको प्रशंसापत्रले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य संस्थाको कार्यसम्पादनमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाको र्‍याङ्किङ तथा ग्रेडिङ अभिलेखअनुसार एकडारा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाले फरक–फरक ग्रेड प्राप्त गरेका छन्। उपलब्ध विवरणअनुसार एकडारा स्वास्थ्य चौकीले ‘A+’, बगिया आधारभूत स्वास्थ्य सेवा केन्द्रले ‘B+’, भटौलिया स्वास्थ्य चौकीले ‘B’, हलखोरी स्वास्थ्य चौकीले ‘B’ तथा कोल्हुवा बगिया स्वास्थ्य चौकीले ‘C+’ ग्रेड प्राप्त गरेका छन्।

गोष्ठीमा प्रस्तुत प्रतिवेदन तथा छलफलबाट प्राप्त निष्कर्षलाई आगामी स्वास्थ्य कार्यक्रमको योजना निर्माण र कार्यान्वयनमा उपयोग गर्दै गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डल, प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार महतो, स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख श्रवण कुमार नायक, तथ्याङ्क अधिकृत नवल किशोर साह, वडा अध्यक्षहरू मनोज कुमार मण्डल,सखीचन्द्र यादव, जीवछ यादव, सिराज अन्सारी र रामबिलास यादव तथा स्वास्थ्य शाखा प्रमुख महेन्द्र कुमार मण्डललगायत स्वास्थ्यकर्मी ,सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।