मो. इर्शाद
महोत्तरी, २७ असोज
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त आयोजनामा रामगोपालपुर नगरपालिका–५ स्थित सामुदायिक भवनमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय नागरिकले लागुऔषध नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरी सेवाको प्रभावकारितासम्बन्धी विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव राखेका थिए। विशेषगरी समाजमा बढ्दो लागुऔषधको समस्या नियन्त्रण, आपराधिक गतिविधि न्यूनीकरण तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विषयमा सहभागीले चासो व्यक्त गरेका थिए।
नागरिकहरूले स्थानीय क्षेत्रमा देखिएका सुरक्षा चुनौतीको प्रभावकारी सम्बोधन गर्न प्रहरी प्रशासन र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। साथै, नागरिकका समस्या र गुनासालाई समयमै सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायले थप सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा प्रहरी तथा प्रशासनका प्रतिनिधिहरूले नागरिकका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिँदै शान्ति सुरक्षा कायम गर्न, लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा प्रहरी सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नागरिक र सुरक्षा निकायबीच प्रत्यक्ष संवाद स्थापित गरी समस्याको पहिचान र समाधान खोज्ने उद्देश्यले आयोजित सुनुवाइ कार्यक्रमले स्थानीय सुरक्षा अवस्था सुधार गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
