जेठ १ गतेदेखि सातामा २ दिन बिदा दिन सिफारीस, विद्यालय समय बढाउनु अव्यवहारिक – Jaleshwortoday

जेठ १ गतेदेखि सातामा २ दिन बिदा दिन सिफारीस, विद्यालय समय बढाउनु अव्यवहारिक

 April 28, 2022  
pp

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ बैशाख

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय शिक्षण संस्थामा पनि लागू हुने भएको छ । अब विद्यालय र क्याम्पसजस्ता शिक्षण संस्था शनिबार र आइतबार बन्द हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भन्छन्, ‘सार्वजनिक विदा भनेपछि सबै क्षेत्रमा लागू हुन्छ ।’ मन्त्री पौडेलेको भनाइ अनुसार सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुनेछ । दुई दिनको विदाले विद्यार्थीको शिक्षण सिकाइलाई प्रभाव नपार्ने गरी कार्यविधि ल्याउने तयारी गरेको मन्त्री पौडेलले जानकारी दिए । हाल सामुदायिक विद्यालयहरु विहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भइरहेका छन् । निजी विद्यालय भने ९ बजेदेखि नै खुल्छन् । सामुदायिक विद्यालयकी शिक्षक रुपा थापा विद्यालय समय अगाडि सार्ने सरकारको निर्णय वैज्ञानिक नभएको बताउँछिन् । पढाइ भएको दिन धेरै समय पढाउने र हप्तामा दुई दिन घरमै राख्दा बालबालिकालाई मानसिक बोझ हुने उनको भनाइ छ । ‘बालबालिकाको शारीरिक र मानसिक अवस्था अनुसार लामो समय कक्षाकोठामा राख्न र सिकाइ सहजीकरण गर्न प्रत्युत्पादक हुन्छ’ उनी भन्छिन् । विद्यालयमा समयवधि थप गर्दा खेल्ने उमेरका बालबालिकालाई मानसिक तनाब बढ्न सक्ने मनोविद् गोपाल ढकाल बताउँछन् । अहिले विद्यालयमा घोकन्ते शैलीमा पढाइ हुने भएकोले बालबालिका कतिबेला छुट्टी हुन्छ र घर जाउँ भन्ने मानसिकतामा हुने भन्दै ढकाल यसले बाल बाल मस्तिष्कमा असर पर्ने सक्ने धारणा राख्छन् । ‘बालबालिकामा म पढाइ भन्दा बढी खेल्नमा रुची हुन्छ । खेल्ने समय कटौती भएपछि बालमष्तिष्कमा असर त पर्छ नै । यसले बालबालिकामा पढाइप्रति नै वितृष्णा जगाउने जोखिम देखियो’ ढकाल भन्छन् । त्यसैले सरकारले सिर्जनात्मक शिक्षण सिकाइको विधि बनाउनुपर्ने उनको सुझाव छ । नयाँ व्यवस्थाले बालबालिका र निजी क्षेत्रमा कार्यरत अभिभावकलाई भने समस्या हुने कुपन्डोलकी सुस्मिता कुँवर बताउँछिन् । ‘१० बजे विद्यालय लाग्दा त बिहान साढे आठ बजे गाडीमा चढाउनै पर्छ । अब झन् ७ बजे चढाउनुपर्ने भयो । पढाउने समय थप गर्नु प्राक्टिकल भएन’ उनी भन्छिन् । निजी क्षेत्रमा कार्यरत अभिभावकलाई दुई दिन विदा हुने नहुने अहिले नै निर्णय भइसकेको छैन । त्यसैले यस्ता अभिभावक मारमा पर्ने कुँवर बताउँछिन् । ‘हामी निजी क्षेत्रमा काम गर्ने अभिभावकलाई समस्या हुने देखियो । म काम गर्ने निजी क्षेत्रमा यो सरकारी निर्णय लागू हुँदैन । आइतबार नानीबाबु हेर्नको लागि विदा लिने भन्ने पनि हुँदैन’ उनी भन्छिन् । विद्यालय समय थप गर्दा टाढाको विद्यालयमा अध्ययन गर्ने बालबालिका समस्यामा पर्ने शिक्षाविद प्रा. डा. विद्यानाथ कोइराला बताउँछन् । ‘विद्यालयदेखि टाढा भएका पहाडी क्षेत्रका बालबालिकालाई समस्या पर्छ’ उनले भने । निजी विद्यालयको संस्था प्याब्सनका अध्यक्ष डीके ढुंगाना विद्यालय समय लम्ब्याउने भन्दा पनि वैकल्पिक कार्यक्रमको विकास गर्नुपर्ने बताउँछन् । ‘हामीले वर्किङ आवर लम्ब्याउने भन्दा पनि विद्यार्थीलाई लाइफ स्किलसँग जोड्ने, समाज समुदायसँग जोड्नको लागि प्रोजेक्ट बेसिस प्रोग्राम डेभलप गरेर अगाडि बढ्नुपर्छ’ उनले भने । विद्यालय समय बढाउनु व्यवहारिक नहुने भएकोले आइतबार बालबालिकालाई कुनै खालको कार्यक्रममा जोड्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी शिक्षण अवधि नघटाउने हो भने समस्या नहुने बताउँछन् । उनी भन्छन् ‘भौगोलिक कारणले केही असजिलो हुन्छ । असर पनि होला तर अब यसलाई लागू गर्ने हो भने विस्तारै अभ्यस्त हुँदै जान्छ ।’