वीरगञ्ज महानगरले गरेको स्तर तथा शुल्क निर्धारण प्याब्सनले नमान्ने – Jaleshwortoday

वीरगञ्ज महानगरले गरेको स्तर तथा शुल्क निर्धारण प्याब्सनले नमान्ने

 December 21, 2022  
tt

जलेश्वरटुडे समाचारदाता
पर्सा, ६ पौष

वीरगञ्ज महानगरपालिकाले नियम विपरीत संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनले विरोध जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो । वीरगञ्ज महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि गत मंसिर २३ गते ६ वटा क वर्ग सहित ५८ वटा विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको थियो । त्यसप्रति अभिभावक संघर्ष समिति, अभिभावक संघ, एनप्याब्सनले असन्तुष्टि जनाएपनि प्याब्सन मौन बसेको थियो । महानगरले स्तर तथा शुल्क निर्धारणको विवरण सार्वजनिक गरेको १३ दिनपछि प्याब्सनले मुख खोलेको छ । प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । शिक्षा नियमावली २०५९ र वीरगञ्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत स्तर तथा शुल्क निर्धारण भएको प्याब्सनको ठहर छ । वीरगञ्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीको नियम ९७ को क मा संस्थागत विद्यालयहरुले लिने शुल्कका लागि संघीय तथा प्रदेश कानुनले तोकेको मापदण्ड बमोजिम सम्बन्धित विद्यालयले शैक्षिक सत्र शुरु हुनु भन्दा तीन महिना अघि नै आफ्नो विद्यालयको शुल्क खुलाई शिक्षा शाखामा प्रस्तावित शुल्क पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै शिक्षा नियमावलीमा वर्गीकरण तथा शुल्क निर्धारण अनुगमन समिति गठन गर्दा प्रतिनिधि मूलक संस्थाको तर्फबाट प्रतिनिधि राख्नुपर्ने व्यवस्था छ । प्याब्सनबाट प्रतिनिधित्व नगराइएको र राय परामर्श समेत नलिई गरिएको वर्गीकरण र शुल्क निर्धारण त्रुटिपूर्ण रहेको प्याब्सनको ठहर छ । प्रेस विज्ञप्तिमा संघीय र स्थानीय कानुनको खिल्ली उडाई कानुन विपरीत गरिएको वर्गीकरण तथा शुल्क निर्धारण मान्य नहुने उल्लेख छ ।