माघ २ गतेदेखि मतदाता नामावली संकलन – Jaleshwortoday

माघ २ गतेदेखि मतदाता नामावली संकलन

 January 9, 2023  
nn

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ पौंष

निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।

गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।

बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

विवाह वा बसाइँ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँ सराइँ दर्ता प्रमाणपत्रका आधारमा अनलाइन प्रणालीमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिने आयोगले जनाएको छ ।