महोत्तरीमा नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण – Jaleshwortoday

महोत्तरीमा नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

 April 30, 2023  
kkk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी,१७ वैशाख

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ ।

सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ ।

उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।

साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरकफरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि पाइएको छ । उनीहरुले वितरण गरेको सामाजिक सुरक्षा भत्ताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएपछि सो कुरा बाहिरिएको हो ।

वडा सचिव मण्डल र वडाध्यक्ष आलमको जालसाजीका कारण अकिला खातुनले रु४४ हजार, असगरी खातुनले रु ९६ हजार, असरुल सोखिनले रु ४४ हजार, इसराईल शेषले रु ३२ हजार, तारा खातुनले रु ४४ हजार, नजिरा खातुनले रु ९६ हजार, विल्टुन खातुनले रु २४ हजार, माझी नदाफले रु ९६ हजार, मैनदिन शेषले रु ४४ हजार, मोजिबुल मोमिनले रु ४४ हजार, रहिमा खातुनले रु ९२ हजार, वरिदा खातुनले रु ९६ हजार, समुदा खातुनले रु ७२ हजार, शेष लाल बाबुले रु ९६ हजार, जरिना खातुनले रु एक लाख २८ हजार, डुमैरा खातुनले रु ८७ हजार, शेष सदिकले रु ४८ हजार, हासिम मोमिनले रु ९६ हजार, हसिना सोखिनले रु ९९ हजार नौ सय, शेख सफी अहमदले रु ९६ हजार, समिना खातुनले रु ८४ हजार शैरा खातुनले रु ९६ हजार बुझेकाले उनीहरुबाट पनि उक्त रकम असुल गरिने वडा कार्यालयले जनाएको छ ।

तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगो स्वरूप रु १६ लाख १४ हजार नौ सय असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडाअध्यक्ष शेष अञ्जारेले जानकारी दिए तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले उजुरीमाथि छानविनका लागि न्यायिक समितिमा पठाइएको र समितिको प्रतिवेदनअनुसार व्यक्तिमाथि असुल गरिनेमा जोड दिए ।