विषादी प्रयोग र जरिवानाबारे सचेत रहौं – Jaleshwortoday

विषादी प्रयोग र जरिवानाबारे सचेत रहौं

 November 26, 2023  
Untitled

  • प्रा.पवन कुमार साह

चितवनस्थित एक एग्रोभेटमा २०७८ सालमा जैविक मल भनेर विषादी भएको पदार्थ बिक्री गरेको फेला प¥यो । अनुसन्धानका क्रममा सो पदार्थमा साइपरमेथ्रिन विषादी भएको पाइयो । मिसावट गरी विषादीको कारोबार गर्ने ती भारतीय नागरिक फरार रहेकाले कारबाहीको मुद्दा प्रक्रिया अगाडि बढाउन नसकिएको ‘प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र’ ले जनाएको छ ।
यस्तै सोही वर्ष कास्कीको पोखरास्थित बीजी एग्रोमा नेपालमा प्रतिबन्धित विषादी ‘कार्बोफ्युरान’ भेटियो । सो प्रतिबन्धित विषादीको विषयमा थप अनुसन्धान गर्दा ललितपुरको लगनखेतस्थित बुढाथोकी एग्रोभेटबाट खरिद गरिएको बिल फेला प¥यो । अनुसन्धानका क्रममा भैरहवास्थित चौरसिया बिज भण्डारसमेत सो कारोबारमा संलग्न भेटियो । ती तीन एग्रोभेटविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भयो । अदालतले ती एग्रोभेटहरूलाई जीवनाशाक विषादी ऐन २०७६ बमोजिम जनही ५० हजार जरिवनासमेत तिराएको थियो ।
नेपालमा २०५७ देखि २०७६ सालसम्म २४ वटा विषादी प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित विषादी कृषि उपज तथा अन्य प्रयोजनमा प्रयोग गरेमा ‘जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६’ अनुसार कानुनी कारबाही गरिने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले बताए ।
ऐनमा प्रतिबन्धित जीवननशक विषादीको उत्पादन, निकासी, पैठारी, व्यावासयिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ, पुनः प्याकिङ वा विसर्जनसम्बन्धी प्रचलित मापदण्ड विपरीत कार्य गरे गराएमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना र एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । नेपालमा खेतीबालीमा लाग्ने रोग तथा कीरा नियन्त्रणका लागि प्रयोग हुने विषादी २०५७ सालबाट प्रतिबन्ध लगाउन थलिएको हो । खेतीबालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण मात्रै नभई मित्रजीव नष्ट, मनाव स्वास्थ्यमा हानि गर्नेलगायतका कारणले विभिन्न विषादीमा प्रतिबन्ध लगाइँदै आएको छ । २०५७ सालमा नेपालमा क्लोरडेन, डीडीटी, डार्डअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, फस्फामिडन र अर्गेनो मर्करी क्लोराइड गरी १२ वटा विषादी प्रतिबन्ध लगाइएको थियो । यस्तै २०६४ सालमा मिथाइल पाराथियन, मोनोक्रोटोफस र इन्डोसल्फान विषादीलाई प्रतिबन्ध गरिएको छ । यस्तै २०७५ सालमा कार्बोफ्युरियम, कार्बारिल, डाइक्लोरभस, ट्रायजोफस र बेनोमाइल प्रतिबन्ध गरिएको हो । यस्तै २०७६ सालमा डायकोफोल, कार्बोसल्फान र एलम्युनियम फोस्फाइड ३ ग्राम टेब्लेट जस्ता विषादीमा सरकारले प्रतिबन्ध लगाएको हो ।