- प्रा.पवन कुमार साह
जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमीलाई जनकपुरधामको अर्थतन्त्र सुधार्ने अवसरको रुपमा लिन सकिन्छ । अहिले आर्थिकमन्दीको कारण यहाँको व्यवसाय चौपट रहेको छ । यहाँका व्यवसायीहरु आजभोलि आर्थिक अवस्था राम्रो हुन्छ वा आर्थिक चहलपहल बढछ भने पर्खाईमा पक्कै पनि छन् । जनकपुरधाम पर्यटकीय नगरी हो । यहाँ विवाहपञ्चमीको बेलामा विभिन्न ठाउँहरुबाट पर्यटकहरु आउने गर्दछन् । खास गरेर भारत तथा अन्य विदेशी मुलुकहरुबाट समेत पर्यटकहरु आउने गर्दछन् । यहाँका स्थानिय व्यवसायीहरुले श्रद्धालु भक्तजन तथा आगन्तुकहरुको सहयोग हुने सेवामुखी व्यवसाय संचालन गरेर या आफ्नो परम्परागत व्यवसायलाई पूर्वतः संचालन गरेर आर्थिक लाभको अवसर प्राप्त गर्न सकिने छ । वास्तवमा अहिले त विवाहपञ्चमी हो र यतिबेला पक्कै पनि फरक लाभ प्राप्त गर्न सकिन्छ व्यवसायबाट । तर विवाहपञ्चमी पछि पनि नियमित रुपमा आफ्नो व्यवसायलाई स्थापित गर्न चुनौतिलाई अवसरको रुपमा लिन सक्नुपर्दछ । भनिन्छ अभाव नै अविष्कारको जननी हो । यस वर्ष जाडो बढेको कारण न्यानो कपडाको व्यवसाय संचालन गरेर राम्रो आम्दानी गर्न सकिन्छ । त्यस्तै फुलमालाका व्यवसायीहरु समेत अन्य दिन भन्दा यस अवधिमा राम्रै आम्दानी गर्न सक्ने छन् । होटेल तथा लाँज संचालकहरु समेत आगन्तुकहरुलाई खाना खुवाएर तथा बास दिएर आर्थिक लाभ प्राप्त गर्न सक्ने छन् । यसै गरी यातायातका साधनहरु संचालन गर्ने व्यवसायीहरु समेत राम्रो कमाई गर्न सक्ने अवसर प्राप्त गर्ने छन् । जानकी मन्दिरको प्रांगणमा संचालन भएको म्युजियमबाट नै राम्रो आम्दानी हुने सम्भावना देखिन्छ । जानकी मन्दिरको उत्तरतर्फ रहेको मरवामा समेत हेर्ने जाने व्यक्ति ताँती लागेको हुन्छ जहाँ टिकट कटाउनु पर्ने हुन्छ । अर्थात यस जनकपुरधाम नगर क्षेत्रमा संचालन भएका सबै किसिमका व्यवसायबाट राम्रो आम्दानी गर्न सक्ने अवसर सबैलाई भेटाउने आशा गरौं । हामी साकारात्मक रहौं । धैर्यता राखौं । पक्कै पनि हामीले मिहिनेत र प्रयासले यस आर्थिकमन्दीलाई अवसरमा परिणत गरी आफ्नो आर्थिक अवस्था राम्रो पार्न सक्छौं । यतिबेला यहाँका स्थानिय घर मालिकहरुले समेत व्यवसायीलाई सहयोग गर्न आवश्यक रहेको देखिन्छ । आर्थिकमन्दीको बखत सबैलाई समस्या भएको छ । त्यसकारण आफ्नो समस्या जस्तै अरुको पनि समस्यालाई बुुझ्न सक्नुपर्दछ । मानवले मानवलाई नै सहयोग गर्दछ । त्यसकारण यो विवाहपञ्चमीलाई अवसरको रुपमा लिऔं ।
