विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव समपन्न – Jaleshwortoday

विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव समपन्न

 December 15, 2023  
88

जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ मंसिर

जनकपुरधाममा सीता राम विवाहपञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव विधि सम्पन्न भएको छ । शुक्रबार त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो। तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। तिलकोत्सवको अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्थ राम गिरीले ‘सम्धी मिलन’ अंकमाल गरेका थिए । अंकमाल कार्यलाई यहाँ ‘सम्धी मिलन’ भनिन्छ। सो अवसरमा दुवै पक्षबीच हासपरिहासका कार्यक्रम भएको थियो। तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्रांगणमा आई तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत महत्वपूर्ण मानिने तिलकोत्सव कार्यक्रममा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले ती पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ राम गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए। तिलकोत्सव कार्यक्रममा उपस्थित नगरबासी तथा श्रद्धालुहरुले जानकी पक्षको प्रतिनिधित्व गर्दै राम पक्षका सहभागीहरुलाई हासपरिहास गरेका थिए । विवाहपञ्चमीको पाँचौ दिन शनिबार जानकीको मटकोर हुनेछ। त्यसपछि आइतबार जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। सोमबार रामकलेवा गरेपछि विवाहपञ्चमी सम्पन्न हुनेछ ।