असई थमन विकको घटनामा अदालतले गरेको फैसला विरुद्ध जलेश्वरमा शान्तिपूर्ण विरोध प्रदर्शन – Jaleshwortoday

असई थमन विकको घटनामा अदालतले गरेको फैसला विरुद्ध जलेश्वरमा शान्तिपूर्ण विरोध प्रदर्शन

 December 15, 2023  
22

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ मंसिर

तराई मधेश आन्दोलनको क्रममा महोत्तरीमा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको घटनामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलाको विरुद्ध जलेश्वरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ ।
जिल्ला अदालत महोत्तरीले बिहीबार विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सहित सात जनालाई जन्मकैदको सजाय सुनाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले जिल्ला अदालतको फैसला पक्षपातपूणर् र अन्यायपूणर् भएको भन्दै विरोध जनाएका छन् । बिहीबार साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र विकको हत्या आरोपमा पक्राउ परी पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिने तथा हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशंकर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डे तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जयकुमार साहलाई समेत जन्मकैदको फैसला भएको हो । लोसपाका सयौं नेता तथा कार्यकर्ता जलेश्वरमा मधेश आन्दोलनमा झुटो मुद्दा लगाएको र अदालतले पक्षपातपूणर् आदेश गरेको भन्दै शुक्रबार विरोध जनाउँदै प्रदर्शन गरेको हो। प्रदर्शनमा महोत्तरी र धनुषाका लोसपाका पार्टीका सांसदहरु तथा पालिकाका प्रमुखहरु सहित नेता कार्यकर्ताको उपस्थिति थियो । बिहीबार भएको फैसलामा कर्तव्य ज्यान सम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैदको सजाय भएको तथा दुई जना अभियोग दाबीबाट सफाइ पाउने देखिएको उल्लेख गरिएको छ । जिल्ला अदालत महोत्तरीमा दायर अभियोग पत्र अनुसार कर्तव्य ज्यान अभियोगमा २८ तथा एम्बुलेन्स आगजनीमा २५ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । कर्तव्य ज्यानको अभियोगमा अन्य फरारको सूचीमा रहेको जनाइएको छ । सशस्त्र प्रहरीको पथलैया बाहिनीबाट यु.एन.को मिसनमा जानका लागि परिक्षा र तालिम सकाएर फर्केका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मा आफू कार्यरत सशस्त्र प्रहरी सीमा सुरक्षाबवल जलसागर जाने क्रममा भदौ २५ गते जलेश्वर नगरपालिका चोकमा आन्दोलन कारीको एक समूहले बाँसको भाटा र इँट्टाको टुक्रा प्रहार गरी निर्मम तरिकाले घाइते बनाएका थिए । घाइते भएका विकलाई प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लाने क्रममा तत्कालीन महोत्तरी गाविसको सनुखरा ९ स्थित सडकमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो । आन्दोलनकारीहरुले उनी चढेको जलेश्वर अस्पतालको ६६–१–१२३५ एम्बुलेन्स जलाएका थिए भने घाइते विकको शव एम्बुलेन्स जलेको ठाउँबाट १ किलोमिटर पूर्वको धानखेतमा बरामद भएको थियो । ज्यान जोगाउन भाग्ने क्रममा उनको हत्या गरिएको थियो ।
नेपालगञ्ज निवासी विकको हत्या अगाडि मधेश आन्दोलनको क्रममा भदौ २३ गते प्रहरीको गोली लागेर तीन तथा त्यसको दुई दिन नबित्दै २५ गते तीन जनाको गरी ६ जनाको मृत्यु भएको थियो । मृतक थमन विककी पत्नी शोभा विकले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराएकी थिइन् ।