विवाहपञ्चमीको शुभकामना – Jaleshwortoday

विवाहपञ्चमीको शुभकामना

 December 16, 2023  
Untitled

  • प्रा.पवन कुमार साह

आज त्रेतायुग कालिन भगवान राम र माता सीताको विवाहको माँगलिक अवसरमा मिथिलाञ्चलमा विवाहपञ्चमी महोत्सव मनाइदै छ । आज मिथिलाञ्चल सहित भारतवर्ष हर्ष तथा आनन्दलले गदगद देखिन्छ । किनभने भारतको अयोध्यामा अहिले रामललाको मन्दिरको उद्घाटनको साथै शुभारम्भ गरिएको छ जहाँ रामभक्तजन रामललाको दर्शन गर्न दैनिक पुग्ने गरेका छन् । विवाहपञ्चमीको अवसरमा त्यहाँ पनि माता सीता र भगवान रामको विवाहको चर्चा तथा महोत्सव भव्य रुपमा मनाइरहेको छ । भारतको सीतामढीमा समेत विवाहपञ्चमी महोत्वस मनाइने गरिन्छ । तर जनकपुरधाममा माता सीता र भगवान रामको विवाहको विधि अनुपम र मिठास देखिन्छ । राजर्षि जनकको नगरी जनकपुरधाममा माता सीता र भगवान रामको बैबाहिक कार्यक्रम एक हप्तादेखि चलिरहेको छ । आज माता सीता र अयोध्या नरेश दशरथको पुत्र भगवान रामको स्वयम्बर सहितको विवाह आज रातिसम्म समपन्न हुने छ । यसै अनुपम तथा मनमोहक दृष्यलाई हेर्न टाढा—टाढाबाट दर्शनार्थी भक्तजन तथा पर्यटकहरुको भीड अत्यधिक हुने गरेको छ । जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिर परिसरमा सम्पूर्ण बैबाहिक कार्यक्रमहरु समपन्न हुने गर्दछ । आज यस अवसरमा सम्पूर्ण जनकपुरधामबासी अधैर्य भएको देखिन्छ । उनीहरु भावुक छन् भने कति जना अपार खुशीले व्याकुल देखिन्छ । प्रत्येक वर्ष यस धार्मिक तथा ऐतिहासिक परम्परालाई सम्मान गर्न अयोध्याबाट रामलला सहितको जन्ती आजकै दिन जनकपुरधाम आइपुग्ने गर्दछ । यस अलौकिक अवसरमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ सहितको कैयौं महापुरुषहरुको आगमन भइसकेको छ । यस अवसरमा विशेष रुपमा स्वर्गका देवीदेवताहरु समेत खुशी हुने गरेको दृष्यलाई चित्रण गर्न गराउन हेलिकप्टरबाट फुलको वर्षा जनकपुरधामको जानकी मन्दिर र राम मन्दिर परिसरमा गर्ने गरिन्छ । यसै दिनदेखि मिथिलाञ्चलमा बैबाहिक गतिबिधि आरम्भ हुने गरेको छ । मर्यादा पुरुषोत्तम राम र नारी सभ्यताको प्रतिक माता सीताको विवाह तथा जिवनगाथाले सम्पूर्ण मिथिला लगायत संसारभरी छरिएर रहेका हिन्दुहरुलाई यसैगरी जिवन यापन गर्न प्रेरणा तथा आशिर्वाद प्रदान गर्दछ । उहाँहरुको मार्गमा हिड्ने जोकोहीले यश,वैभव,सुख तथा शान्ति प्राप्त गरेका छन् । अन्त्यमा सबैमा विवाहपञ्चमीको अनन्त शुभकामना ।