बालकुमारी घटनाले शिकाएको पाठ – Jaleshwortoday

बालकुमारी घटनाले शिकाएको पाठ

 December 31, 2023  
Untitled

  • प्रा.पवन कुमार साह

बालकुमारीमा भएको मानवीय क्षतिले नेपाल सरकार तथा हामी देशबासीलाई पक्कै पनि नयाँ पाठ शिकाएको छ । शुक्रबार ललितपुर महानगरपालिका वडा नं. ८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको थियो । गृह मन्त्रालयले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति परिवार दश लाख राहत रकम उपलब्ध गराउने र उक्त घटनाको छानबिन गर्न मन्त्रालयबाट गठन गरिएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
‘यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । सबै नागरिकहरूले आफ्ना विषयहरू शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको ब्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
सो घट्ना पश्चात दुई जना युवकको ज्यान गएपछि गृह मन्त्रालयले घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई समेत निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।
त्यस्तै ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको मन्त्रालयले जानकारी दिएको छ । साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । यो घटना आम युवालाई त्रसित तथा घोच्ने भएको छ । आखिर अदालतले युवाहरुको अधिकारको ढोका तब खोल्यो जब २ जना युवाले ज्यान गुमाइसकेका थिए । त्यसमा पनि नेपाल सरकारको प्रहरी प्रशासनले पनि संयमता अपनाउन सकेन र बेरोजगार युवा रोजगारी पाउन तथा बुबाको क्यान्सर रोग निको गर्न बिदेशिन तयार भएको बेला गोलि खानु पर्यो । यो कस्तो बिडम्बना हो हाम्रो देशको । हामी हरेक काममा पछाडी छौं । अहिले यी युवाहरुले ज्यान गुमाई सकेपछि परिवार जनलाई १०—१० लाख र घाइतेलाई औषधी उपचारको परम्परा ज्यादै नै पुरानो देखियो । अहिले आर्थिक संकटको बेला जनतालाई सुख छैन र अधिकार माँग्दा गोली खानुपर्छ । सरकारले यस्तो गल्ती गर्न सुहाएन र क्षमा लायक पनि छैन यो गल्ती । यो दोहोरिनु भएन ।